जोखिममा परेका ३८८ महिलाको कैलालीबाट उद्धार, १३२ अझै बेपत्ता
धनगढीः मानव बेचबिखनको जोखिममा परेका तीन सय ८८ महिलाहरुको कैलालीबाट उद्धार गरिएको छ।
बेचबिखनको जोखिममा परेका महिला तथा बालबालिकाहरुलाई शान्ति पुनस्र्थापना गृह कैलालीले गत वर्ष तीन सय ८८ जनाको उद्धार गरेको हो। सो अवधिमा कञ्चनपुरबाट पनि दुई सय ४४ महिला तथा बालबालिकाको उद्धार गरिएको शान्ति पुनस्र्थापना गृहले जनाएको छ।
गत वर्षको साउन महिनामा कैलालीबाट २३, कञ्चनपुरबाट २९, भदौ महिनामा कञ्चनपुरबाट १७, कैलालीबाट ३४, असोज महिनामा कञ्चनपुरबाट १४ र कैलालीबाट २३ महिला तथा बालबालिकाको उद्धार गरिएको छ। त्यस्तै कात्तिक महिनामा कञ्चनपुरबाट ९, कैलालीबाट २५, मंसिर महिनामा कञ्चनपुरबाट १४, कैलालीबाट ४२, पौष महिनामा कञ्चनपुरबाट १२, कैलालीबाट ४०, माघ महिनामा कञ्चनपुरबाट १८ र कैलालीबाट ४२ महिला तथा बालबालिकाको उद्धार गरिएको छ।
फागुन महिनामा कञ्चनपुरबाट ९, कैलालीबाट २१, चैत महिनामा कञ्चनपुरबाट १४, कैलालीबाट ३०, बैशाख महिनामा कञ्चनपुरबाट ३७, कैलालीबाट ३१, जेठमा कञ्चनपुरबाट ३३, कैलालीबाट ३२ तथा असाढ महिनामा कञ्चनपुरबाट ३८ र कैलालीबाट ४६ महिला तथा बालबालिकाको उद्धार गरिएको छ।
शान्ति पुनस्र्थापना गृहको धनगढी शाखाले मात्र मानव बेचबिखन तथा ओसारपसारको जोखिम पूर्ण यात्रामा रहेका तीन सय ८८ महिला, किशोरी तथा बालबालिकाहरुलाई उद्धार गरेर परिवारको जिम्मा लगाएको जिल्ला कार्यसमिति संयोजक कैलास सोव रानाले बताइन्। सो अवधिमा ११ जना महिला तथा किशोरीलाई भारतबाट उद्धार गरिएको समेत उनले बताइन्।
शान्ति पुनस्र्थापना गृह धनगढी शाखाले दुई जना विरुद्ध मानव बेचबिखन तथा ओसारपसार र दुई जना विरुद्ध सार्वजनिक मुद्दा समेत दर्ता गरिएको छ। धनगढी शाखामा एक सय ३७ जना हराएको भन्दै आफन्तले खोजतलासका लागि निवेदन दिएको कार्यक्रम संयोजक सोवले बताइन्। हराएकामध्ये अहिलेसम्म ५ जना मात्र फेला परेका छन्।