डडेल्धुराका एक व्यापारी पक्राउ
धनगढीः डडेल्धुराका एक व्यापारी पक्राउ परेका छन्। जिल्लाको अमरगढी नगरपालिका प्रमुख डिल्लीराज जोशीलाई डोजर चलाए पेट्रोल छर्किएर आगो लगाउने धम्की दिने महाकाली ट्रेडर्सका सञ्चालक तीर्थ भण्डारी पक्राउ परेका हुन्। प्रहरीका अनुसार उनलाई मङ्गलवार बिहान पक्राउ गरिएको हो।
डडेल्धुरा सदरमुकाम बागबजारमा सडक विस्तार गर्न अमरगढी नगरपालिका र सडक डिभिजन कार्यालयले डोजर चलाएपछि विवाद भएको थियो। सडक विस्तारका लागि बागबजार क्षेत्रमा जग्गाको मुआब्जा वितरण गरिएको थियो।
सरकारले मुआब्जा वितरण गरिसके पनि घरधनी र व्यापारीहरूले पूरानै सडकसम्म व्यापार गर्दै आइरहेका थिए। १५/१५ मिटर सडक दायाँ/बायाँ खाली गर्न अमरगढी नगरपालिका र सडक डिभिजन कार्यालयले बारम्बार सूचना जारी गरेको थियो। तर, घरधनी र व्यापारीहरूले अटेरी गर्दै आएपछि सोमवारबाट संरचना खाली गर्न डोजर चलाइएको छ। सडकको सेट ब्याग छोड्नु पर्ने प्रावधान भएपनि बागबजारका घरबेटी र व्यापारीहरूले मानेका छैनन्। घरधनीलाई ३/३ मिटर दायाँ/बायाँ सेट ब्याग छोड्न भनेको अमरगढी नगरपालिका प्रमुख डिललीराज जोशीले बताए।