सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूर पहाडका भिरपाखामा जीवनका सपनाहरु चकनाचुर

२०८० कार्तिक २१, १०:१२

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भिरबाट लडेर ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ। घाँस, दाउरा, मेलापात गर्ने भिरालो जमिनमा जानुपर्ने भएपछि भिरबाट लडेर ज्यान गुमाउनेको संख्या बढ्दै गएको हो।

घाँस, स्याउला, सोत्तरका लागि ज्यानै जोखिममा राखेर भिरमा जानुपर्ने बाध्यता ग्रामीण समुदायको छ। घाँस काट्ने बेला भिर र रूखबाट लड्ने घटना पटकपटक दोहोरिने गरेका छन्। भिरबाट लडेर ज्यान गुमाउनेमा पुरुषभन्दा महिलाको संख्या सबैभन्दा उच्च देखिएको छ। भिरबाट लडेर मृत्यु भएपछि शव परीक्षण गर्नुपर्ने, भवितव्य ज्यानसम्बन्धी मुद्दा दर्ता हुने, सनाखत मुचुल्का बनाउनुपर्ने झन्झटका कारण धेरैले प्रहरीलाई जानकारी नै नदिएर अन्तिम संस्कार गर्ने गरेको समेत पाइएको छ।

सदरमुकामभन्दा बाहिर शव परीक्षण गर्ने व्यवस्था नहुनु र कानुनी झन्झट बेहोर्नुपर्ने लगायत कारणले पनि धेरैले प्रहरीलाई खबर नै गर्ने गरेका छैनन्। भौगोलिक रूपमा विकट सुदूर पहाडमा रोगबाट भन्दा रुख र भिरबाट लडेर मृत्यु हुने समस्या विकराल बन्दै गएको हो। चालु आर्थिक वर्षको साउनदेखि कात्तिक दोस्रो सातासम्म भिर तथा रुखबाट लडेर करिब दुई दर्जनको संख्यामा महिला तथा पुरुषको मृत्यु भइसकेको छ। सो अवधिसम्म पहाडी जिल्ला डडेल्धुरामा रुखबाट लडेर दुई महिलाको मृत्यु भएको छ।

भागेश्वर गाउँपालिका–२ रुपाल रैनपाटाकि ३२ वर्षीया रूपा दमाई र आलिताल गाउँपालिका–१ तोलि गाउँकी नारूदेवी बोहरा खसेर मृत्यु भएको हो। त्यस्तै डोटीमा पनि भिरबाट लडेर एक बालिका र एक युवकको मृत्यु भएको छ। बडीकेदार गाउँपालिका–५ लानाकी १३ वर्षीया समिक्षा मल्ल र दिपायल–सिलगढी नगरपालिका–७ का ३० वर्षीय नरबहादुर विष्टको भिरबाट लडेर मृत्यु भएको थियो। पहाडी जिल्ला अछाममा पनि भिरबाट लडेर मृत्यु हुनेको संख्या बढ्दै गएको छ।

साँफेबगर नगरपालिका–१३ बाब्लाका ३९ वर्षीय लालबहादुर बटाला, मंगलसेन नगरपालिका–१ जैधनकी २५ वर्षीया निर्मला साउँद, मंगलसेन नगरपालिका–३ लाक्षीमनाकी उज्जली आउजी, चौरपाटी गाउँपालिका–१ की १५ वर्षीया अमृता साउँदको भिरबाट लडेर मृत्यु भएको छ। बैतडीमा पनि भिरबाट लडेर मृत्यु हुनेको संख्या बढ्दै गएको छ।

जिल्लाको डिलाशैनी गाउँपालिका–१ खुम्ताकी २२ बर्षीया सुनकला बोहरा, डिलासैनी गाउँपालिका–४ फलेडीकी २७ वर्षीया गोमा नेगी, सिगास गाउँपालिका–२ कोटिलाका ५० वर्षीय हिरा धामी, पाटन नगरपालिका–५ ओदालीका ३२ वर्षीय रामबहादुर चन्द, पाटन नगरपालिका–४ कुणीका ५० वर्षीय वीरसिंह विष्ट, दोगडाकेदार गाउँपालिका–१ गोरङकी १८ वर्षीया सुमिता बिष्ट र सिगास गाउँपालिका–३ की गौमतीदेवी धामीको भिरबाट लडेर मृत्यु भएको छ।

त्यस्तै बझाङको थलारा गाउँपालिका–८ पण्डित गाउँका ५५ वर्षीय गंगादत्त पण्डित र जयपृथ्बी नगरपालिका–७ खगेडाका ८ वर्षीय बिजय सार्कीको रुखबाट खसेर मृत्यु भएको छ। जयपृथ्बी नगरपालिका–३ पडेंसका ५५ वर्षीय रामचन्द्र रोकाया, बित्थडचिर गाउँपालिका–९ उडीकी ४५ वर्षीया गौमतीदेवी बोहरा र केदारस्युँ गाउँपालिका–८ रजाडाकी १७ वर्षीया हिउकला बोहराको भिरबाट लडेर मृत्यु भएको छ। 

त्यस्तै दार्चुलाको नौगाड गाउँपालिका–६ थालिगडाकी २५ वर्षीया हिरा धामी, मार्मा गाउँपालिका–४ मर्मतीकी ३० वर्षीया पार्वती बिष्टको पनि भिरबाट लडेर मृत्यु भएको छ भने दुहुँ गाउँपालिका–१ बाच्पालीकी ५० वर्षीया जयमती महरको भिरबाट खसेको ढुंगा लागेर मृत्यु भएको हो। यसरी वर्षेनि सुदूर पहाडका भिरपाखाले कयौँ व्यक्तिका जीवनका सपनाहरु छिभरमै चकनाचुर पार्ने गरेको विषयप्रति राज्यको ध्यान जान सकेको छैन्।

कमेन्ट लोड गर्नुस