धनगढी एफसीमा मिडफिल्डर ओमप्रकाश अनुबन्धित

धनगढीः धनगढी एफसीले दास्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)का लागि कैलालीका युवा मिडफिल्डर ओमप्रकाश चौधरीलाई अनुबन्धित गरेको छ।
‘गो ड्रिमर्स’ को स्वामित्वमा रहेको साविक उपविजेता धनगढी एफसीले प्लानिङ ब्वाइजलाई यस वर्ष सी डिभिजनबाट बी डिभिजनमा उकाल्न महत्वपूर्ण भूमिका खेलेका मिडफिल्डर ओमप्रकाशसँग यस सिजनका भित्र्याएको हो। सुदूरपश्चिम ११ स्पोर्टस क्लबबाट देशका विभिन्न भागमा हुने गोल्डकपहरु समेत खेलेका ओमप्रकाश र धनगढी एफसीका अध्यक्ष सुवाश शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।
सम्झौता पत्रमा हस्ताक्षर पश्चात ओमप्रकाशले स्थानीय खेलाडीका रुपमा होम टाउनको टोलीसँग अनुबन्ध हुन पाउँदा खुशी व्यक्त गरे। त्यस्तै धनगढी एफसीका अध्यक्ष सुवाश शाहीले मिडफिल्डर ओमप्रकाशलाई स्वागत गर्दै उनको आगमनले टोली थप मजबुद बन्ने बताए। धनगढी एफसीले यसअघि यूरोपियन लिगहरु खेलिसकेका सेनेगल राष्ट्रिय फुटबल टोलीका पूर्व रक्षक फलू डियाग्ने र नेपाली फुटबलमा सफल देखिएका विदेशी खेलाडी ओलाआले अफिजलाई अनुबन्ध गरिसकेको छ।
नेपाल सुपर लिगको दोस्रो संस्करण आगामी मङ्सिर ८ देखि पौष २१ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा हुँदैछ। एनएसएलको यस सिजनका लागि धनगढी एफसीको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टिमका प्रतिभावान मिडफिल्डर आशिष चौधरी रहेका छन्।
आशिषले शहीद स्मारक लिग ‘ए’ डिभिजन लिगमा चर्च ब्याइज यूनाइटेडबाट खेल्दै टोलीलाई लिगको बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। त्यस्तै अक्सनबाट धनगढी एफसीले साइमन लिम्बु, निशान लिम्बु, मिलन राई, सुरेश कुमाल, रन्दीप पौडेल, मनोज राई, कमल श्रेष्ठ, टेकेन्द्र सिंह थापा, देवेन्द्र तामाङ, हेमन्त श्रेष्ठ, अभिषेक गुरुङ, कृतिश रत्न छुन्जु र रामचन्द्र वाजीलाईं अनुबन्ध गरिसकेको छ।



