सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–दीपायल द्रुतमार्ग कालोपत्रको काम सुरु हुँदै

२०८० कार्तिक १९, ०७:५२ खबर संवाददाता

धनगढीः धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्ग कालोपत्र गर्ने काम अघि बढेको छ। सडक कालोपत्रका लागि धनगढी–स्याउले सडकखण्डमा पानी पिचको काम सुरु भएको सडक योजना कार्यालयले जनाएको छ।

उक्त सडक कालोपत्र गर्न पानी पिचको काम भइरहेको जनाउँदै गत आर्थिक वर्षमा बजेट अभावका कारण काम अलपत्र परेको कार्यालयका प्रमुख लक्ष्मण रावलले बताए। उनका अनुसार उक्त द्रुतमार्गअन्तर्गत २३ किलोमिटर सडक कालोपत्र गर्नका लागि विसं २०७८ वैशाखमा ठेक्का सम्झौता भएको थियो।

धनगढी–स्याउले सडक खण्डको १३ दशमलव चार र दीपायल–बाजमोर्ड खण्डको नौ दशमलव छ किलोमिटर सडक कालोपत्रका लागि सम्झौता भएको रावलले बताए। कैलालीमा थप साँढे छ किलोमिटर र डोटीमा १५ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको योजना कार्यालयले जनाएको छ। चार खण्डमा सडक कालोपत्रको काम भइरहेको उनले बताए। “डोटीमा छ किलोमिटर कालोपत्र गरिएको छ। डोटीको बाँकी क्षेत्र र कैलाली खण्डमा कालोपत्रको काम अघि बढेको छ”, योजना प्रमुख रावलले भने, “हालसम्म करिब ७० प्रतिशत काम पूरा भएको छ।”

विसं २०७८ मा ठेक्का सम्झौता गरिए पनि बजेट अभावका कारण सडक निर्माण अलपत्र परेको जनाउँदै रावलले चालु आवमा सङ्घीय सरकारले २५ करोड बजेट विनियोजन गरेको बताए। विसं २०६४ मा खुटिया–दीपायल द्रुतमार्गको औपचारिक रूपमा सर्भे गरी ट्याक खोल्न थालिएको थियो। रासस

 

कमेन्ट लोड गर्नुस