सुदूर नेपाललाई विश्वसँग जोड्दै

अदालतबाट रोक्का जमिन मालपोत धनगढीले सुटुक्क नामसारी गरेपछि...

२०८० कार्तिक १९, ०५:४५ कमल सावद

धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर ३ कि विष्णुकुमारी ओझा र रमिला स्वाँरको बिचमा लेनदेनको समस्या थियो। राधिकाले स्वाँरलाई १० लाख रुपैयाँ दिनु थियो। नगद दिन नसकेपछि स्वाँरले विष्णुको १७८ नम्बर कित्ताको ३८५ वर्गमिटर जमिन अदालतबाट रोक्का गर्न लगाइन्। २०७९ असार २४ गते कैलाली जिल्ला अदालतले विष्णुको जमिन रोक्का गरेको थियो। अदालतको पत्रका आधारमा मालपोत कार्यालय, कैलालीले पनि २०७९ असार २७ गते सो जमिन रोक्का गरेको थियो। तर, अहिले उक्त कित्ताको जमिन बिक्री भएको खुलेको छ।

कैलाली जिल्ला अदालतले रोक्का गरेको जमिन फुकुवा नगर्दै बिक्री भएको हो। धनगढीकी रमिला स्वाँरले आफूले रोक्का गर्न लगाएको जमिन बिक्री भएको पछि मात्र जानकारी पाएकी हुन्। उनले भनिन, ‘मलाई जमिन बिक्री भएको मितिको बारेमा केही जानकारी छैन। तर, रोक्का गरिएको जमिन बिक्री भएको थाहा पाएपछि मालपोत गएकी हुँ। अहिले फेरि रोक्का भएको छ। मालपोतका कर्मचारीहरू मिलेर बिक्री गरेका हुन। म अदालत गएकी हुँ। नामसारीको मितिको बारेमा मलाइ जानकारी भएन।’

कैलाली जिल्ला अदालतबाट रोक्का गराइएको जमिन मालपोत कार्यालयले नामसारी गरिदिएको हो। अदालतले रोक्का फुकुवा नगर्दै मालपोत कार्यालय धनगढीका कर्मचारीले आर्थिक लेनदेन गरेर जमिनको नामसारी गरेको आरोप लागेको छ। मालपोत कार्यालय कैलालीका सूचना अधिकारी समेत रहेका मालपोत अधिकृत नन्दलाल पाण्डेलेसहितका कर्मचारीको मिलेमतोमा जमिन नामसारी भएको खुलेको हो।

तर, मालपोत कार्यालय, कैलालीले भुलचुक रोक्का रहेको जमिन बिक्री भएको तर्क गरेको छ। मालपोत कार्यालय, कैलालीका प्रमुख प्रेमबहादुर दौल्यालले भुलचुक जमिन अर्काको नाममा गएको स्वीकारे। उनले भने, ‘मानिस हो, कहिलेकाहीँ झुकिन्छन। कर्मचारीलाई झुक्याएको रहेछ। जग्गाधनीले कर्मचारीलाई झुक्याएको देखिन्छ। कर्मचारीको मिलेमतो होइन। हामीले रोक्का राखेका छौ। सम्बन्धित व्यक्तिलाई म्याद दिएका छौ।’

मालपोत कार्यालय, कैलालीले अदालत र बैँकबाट रोक्का गरिएको जमिन बिक्री भएपछि खैलाबैला भएको छ। अदालतबाट रोक्का गरिएको जमिन बिक्री भएको जानकारी पाएपछि रमिला स्वाँर अदालत र मालपोत पुगेकी हुन्। विष्णुकुमारी ओझा र रमिला स्वाँरको बिचको लेनदेनको विषय नमिलेको बेला जमिन बिक्री भएपछि मालपोत कार्यालय, धनगढी र जिल्ला अदालत कैलालीमा खैलाबैला नै भएको छ। मालपोत कार्यालय, कैलालीले जमिन फेरि रोक्का गरेको दाबी गरेको छ। राधिकाले अर्कै व्यक्तिको नाममा नामसारी बिक्री गरेको जमिन मालपोत कार्यालयले पुनः रोक्का गरिएको दाबी गरेको हो। मालपोत कार्यालय, कैलालीका प्रमुख दौल्यालले जग्गाधनीले झुक्याएर अर्कोलाई बिक्री गरेको बताए। उनले भने, ‘कर्मचारीसँग मिलेमतो होइन। उहाँहरूले झुक्याउनु भएको रहेछ। मैले पुनः रोक्का राखेको छु। जमिन कतै जाँदैन।’

कैलाली मालपोत कार्यालयले कानुन विपरीत रोक्का गरिएको जमिनको नामसारी गरेको भन्दै पीडित रमिला स्वाँर पुनः अदालत गएकी छन्। रमिलाले मालपोत कार्यालय, धनगढी र जिल्ला अदालत कैलालीमा निवेदन दिएपछि जमिन पुनः रोक्का गरिएको विषय बाहिर आएको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस