कर्णाली पुल जोखिममा!
टीकापुर: कैलाली र बर्दियालाई जोड्ने हुलाकी राजमार्गको टीकापुर–८ स्थित कर्णाली नदीमा रहेको पुल जोखिममा रहेको छ।
नदी कटानले पुल संरक्षणका लागि बनाएको तटबन्धसमेत भासिँदै जान थालेपछि पुल भत्किने जोखिम बढेको हो। सुदूरपश्चिम प्रदेश र प्रदेश ५ लाई हुलाकी राजमार्गअन्तर्गत जोड्ने कर्णाली पुल नदी कटानले भत्किने उच्च जोखिममा छ। वर्षातको समयमा कर्णाली नदीमा पानीको बहाव बढेसँगै पुल भत्कने अवस्थामा पुगेको स्थानीय बताउँछन्।
पुलको पूर्वपट्टि बर्दियाको राजापुर नगरपालिकातर्फ पानीको धार बगेकाले पुल जोखिममा परेको हो । पुलको पूर्वतर्फको पिलरसँगै अहिले तारजाली भाँसिदै गएको छ। पुलको पूर्वतर्फ अहिले ठूलो भ्वाङ परेको छ। भ्वाङ टाल्ने काम भइरहेको भए पनि पानीले पुलको किनारमा रहेको तारजाली बगाउँदै र भासिँदै गएपछि भ्वाङ परेकाले पुल उच्च जोखिममा रहेको टीकापुर–८ सूर्यपुरका धनसिंह साउदले बताए।
'विगत तीन वर्षदेखि पुलको सोही स्थानमा तारजाली भासिँदै गएको छ, मर्मतको कार्य भइरहेको भए पनि दीर्घकालीन समाधान भएको छैन,' ठकुल्ला भन्छन्, 'अहिले पुल भत्कने उच्च जोखिममा रहेकाले पुल निर्माण कम्पनीलाई मर्मतका लागि पहल गरिरहेका छौँ।'
पुल जोगाउनका लागि पुलको लम्बाइमा एक खण्ड (स्पान) थप गरेमात्र समस्या समाधान हुने भएकाले कम्पनीसँग समन्वय भइरहेको ठकुल्लाले बताए। रसुवा कन्स्ट्रक्सनले विसं २०७१ मा निर्माण सम्पन्न गरेको पुल भासिँदै जाँदा कम्पनीले वर्षेनी वर्षात्मा मर्मत भन्दै तारजाली हाल्दै आएको छ।
वर्षेनी पुल छेउमा तारजाली भासिँदै जाँदा मर्मतमा धेरै रकम खर्चिएकाले अब नदीको अवस्था हेरी पुलमा खण्ड थप्न आवश्यक रहेको वडाध्यक्ष ठकुल्लाको भनाइ छ। निर्माण कम्पनीले भने खण्ड थप्न नसकिने भन्दै वर्षेनी मर्मत गर्दै आएको छ।