सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘सेतीमा बिरामीको शल्यक्रिया गर्न पहुँच चाहिन्छ’

२०८० कार्तिक १८, १०:२० कमल सावद

धनगढीः सेती प्रादेशिक अस्पताल धनगढीमा पहुँचको भरमा बिरामीको शल्यक्रिया हुँदै आएको आरोप लागेको छ। विभिन्न बहानामा सर्वसाधारण बिरामीको शल्यक्रिया नहुने गरेको गुनासो बढ्न थालेको हो।

सेती प्रादेशिक अस्पतालको शल्यक्रिया कक्षमा पालो पाउन पहुँच र शक्ति आवश्यक पर्ने कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ राजीपुरका मनिराम सापकोटाले बताएका छन्। उनले शल्यक्रियाका लागि तेस्रो पटक मिति तोकिदा पनि नभएको गुनासो गरे। अस्पताल प्रशासनले शल्यक्रिया हुने बताए पनि कक्षका स्वास्थ्यकर्मी र चिकित्सकले गर्न नमानेको उनको गुनासो छ। उनले भने, ‘हामीलाई अप्रेसन (शल्यक्रिया) हुने भनेर फोन गरेर बोलाइएको हो। तेस्रो पटक अप्रेसनका लागि समय दिइएको थियो। म बाट मन्जुरी नामासमेत गराइएको छ। हामीले औषधिसमेत खरिद गरेका छौ। पूर्ण रूपमा तयारीमा रहदाँ समेत अप्रेसन भएन। अस्पताल प्रशासनले हुन्छ भन्छ, तर अप्रेसन कक्षमा हुँदैन भन्छन्।’ उनले सेती अस्पतालको शल्यक्रिया कक्षमा पहुँच र शक्तिमा रहेकाहरूले मात्र सेवा पाउने गरेको आरोप लगाएका छन्।

सेती अस्पतालमा साउनदेखि शल्यक्रियाका लागि पर्खिएका अर्का एक बिरामीका आफन्तले झन्डै २० पटक शल्यक्रियाका लागि अस्पताल आउदा पनि सेवा नपाएको गुनासो पोखे। उनले, ‘साउन महिनादेखि उपचार गर्दै छौ। २० पटक अस्पताल आएका छौ। तर, समय मात्र दिन्छन। चेक गर्न मात्र लगाउछन्। तर शल्यक्रिया हुँदैन।’ पटक–पटक मिति सार्ने मात्र काम भएको उनले बताइन्। निजी अस्पतालसँगको मिलेमतोमा सेतीमा शल्यक्रिया नभएको उनको आरोप छ।

सेती प्रादेशिक अस्पतालमा खुट्टा काटियर आकस्मिक कक्षमा आएका एक बिरामीले समेत उपचार सेवा नपाएको गुनासो गरेका छन्। उनले भने, ‘सेतीमा चिनेको कोही छैन। मेरो पहुँच छैन। उहाँहरूले मेरो वास्ता गर्नु भएन।’ सेती प्रादेशिक अस्पतालमा पहुँच र शक्तिमा रहेकाहरुको मात्र सहज रुपमा उपचार हुने गरेको उनको समेत गुनासो छ।

सेती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष नरबहादुर शाहले शल्यक्रियाका लागि चिकित्सक र शय्याको अभाव रहेकाले समस्या हुने गरेको बताए। उनले भने, ‘सेतीमा शल्यक्रियाका लागि पालो कुर्नुपर्ने छ। डाक्टर र शय्याको अभाव छ। हामी थप गर्ने योजनामा छौ।’ अस्पताल विकास समितिका अध्यक्ष शाहले क्रमिक रूपमा अस्पतालको शल्यक्रिया सेवामा समेत सुधार हुँदै जाने बताएका छन्।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस