सुदूर नेपाललाई विश्वसँग जोड्दै

निःशुल्क उपचारको व्यवस्था टेर्दैनन् धनगढीका निजी अस्पतालहरू

२०८० कार्तिक १५, ०७:४० नारायण अवस्थी

धनगढीःकैलालीको धनगढीमा सञ्चालित निजी अस्पतालहरूले निःशुल्क उपचार सेवा प्रदान गर्नुपर्ने व्यवस्था कार्यान्वयन गर्न अटेर गरेका छन्। स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ को दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय र बेवारिसे बिरामीका लागि कुल शय्याको दश प्रतिशत शय्या छुट्याएर निःशुल्क उपचार अनिवार्य रुपमा उपलब्ध गराउनुपर्ने स्पष्ट व्यवस्था छ। तर, धनगढीमा रहेका कुनै पनि निजी अस्पतालले कानुनले व्यवस्था गरेको १० प्रतिशत शय्या निःशुल्क गरेका छैनन्।

धनगढी उपमहानगरपालिकाले पटक–पटक ताकेता र पत्राचार गर्दा पनि निजी अस्पतालहरू विपन्न, असहाय र बेवारिसे बिरामीका लागि दश प्रतिशत शय्या छुट्याउन तयार भएका छैनन्। उपमहानगरपालिकाले सर्वप्रथम २०८० जेठ १७ गते धनगढीका निजी अस्पतालहरूलाई दश प्रतिशत शय्या निःशुल्क गर्न पत्राचार गरेको छ। त्यसपछि, असार १५ गते दोस्रो पटक र भदौ १० गते तेस्रो पटक उपमहानगरले निजी अस्पतालहरूलाई निःशुल्क उपचार गरे नगरेको विवरण पठाउन पत्राचार गरेको छ। निजी अस्पतालहरूले उपमहानगरलाई विवरण नपठाएपछि चौथो पटक कात्तिक १५ गते स्वास्थ्य संस्था सञ्चालन मापदण्ड,२०७७ बमोजिम निःशुल्क उपचारको व्यवस्था मिलाउन धनगढीमा सञ्चालित निजी अस्पतालहरूका नाममा उपमहानगरले पत्र काटेको छ।

धनगढीमा निजी लगानीमा खुलेका मायामेट्रो अस्पताल, नवजीवन अस्पताल, कैलाली अस्पताल, स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी, ओम आशा अस्पताल, सारथी अस्पताल, निसर्ग अस्पताल एण्ड रिसर्च सेन्टर, सिपी अस्पताल, केजी अस्पताल, सौभाग्य अस्पताल एण्ड रिसर्च सेन्टर, नोभा अस्पताल र धनगढी नेत्रालय मध्ये कुनै पनि अस्पतालले कुल शय्याको १० प्रतिशत शय्या विपन्न, असहाय र बेवारिसेलाई  निःशुल्क गरेको विवरण पेश नगरेको उपमहानगरले जनाएको छ।

धनगढीमा सञ्चालित १२ वटा निजी अस्पतालले कुल शय्याको १० प्रतिशत शय्या निःशुल्क गरे विपन्न, असहाय र बेवारिसे बिरामीको उपचार सहजै हुने अवस्था रहे पनि अस्पताल  सञ्चालकहरूले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ र उपमहानगरको आग्रहको अटेरी गर्दै आएका छन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस