सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरबाट बहाल ‘बिटौरी’ कर संकलनको दर सार्वजनिक

२०८० कार्तिक १५, ०४:३६ नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरले बहाल बिटौरीकरको दर सार्वजनिक गरेको छ। उपमहानगरले बालाजी कन्स्ट्रक्सनसँग २०८० श्रावण ४ गते बहाल बिटौरी कर संकलन गर्ने सम्झौता गरेको थियो।

कम्पनीले उपमहानगरसँग गरेको सम्झौताको अनुसूची बमोजिम मात्रै कर उठाउन पाउने अनुसूचीमा उल्लेख नभएको शिर्षकमा कुनै पनि किसिमको कर उठाउन नपाउने उपमहानगरले स्पष्ट पारेको छ। नगर प्रमुख गोपाल हमालले बहाल बिटौरी कर संकलनको शिर्षक र दर सार्वजनिक गर्दै उल्लेखित शिर्षक बाहेक कम्पनीले कुनै कर उठाउन नपाउने र तोकिएको दरभन्दा बढी कर असुल गर्न खोजे उपमहानगरमा उजुरी गर्न नगरवासीलाई आग्रह समेत गरेका छन्।

नगर प्रमुख हमालले आफ्नो फेसबुक पेजमा लेखेका छनः– ‘तोकिएकोभन्दा बढी रकम र पट्टापुर्जीमा उल्लेख  नभएका व्यवसायीबाट रकम संकलन गरेको पाइएमा रसिदको फोटो र निबेदन सहित उपमहानगरपालिकामा पेस गर्न अनुरोध गर्दछु। साथै ठेक्का पाएको कम्पनीले सम्झौताभन्दा बढी रकम लिएमा सम्झौता तोडी कम्पनी राखेको बैंक ग्यारेन्टीबाट असुल गरी कारबाही गरिने छ।’   
यस्तो छ बहाल बिटौरी करको दर 
ठेक्का पाएको कम्पनीले घुम्ती (मोबाईल, ठेला) पसल, खुम्चा (बजारमा कुखुराको खोर राखी ठूलो मात्रामा व्यवसाय गर्ने) समेतलाई दिनको एक सय रुपैयाँ कर तोकिएको छ भने चौपाया, हाँस र कुखुरा प्रति गोटा पचास रुपैयाँ कर बुझाउनुपर्ने छ। यसैगरी, अन्य पालिकामा उब्जेको साग, सब्जी र फलफूल बिक्री गर्ने पसलबाट कम्पनीले हरेक दिन सय रुपैयाँ  कर उठाउन पाउने छ भने भूइँमा दलहनका साथै अन्य मालसामान बेच्नेलाई पनि हरेक दिन एक सय रुपैयाँ कर तोकिएको छ।

उपमहानगरले उपमहानगरपलिकामा दर्ता नभएका आस्थाई प्रकृति खोकाबाट इजाजत नलिएका खोकाबाट पनि हरेक दिन एक सय कर उठाउन पाउने व्यवस्था गरेको छ। कृषि हाट बजारबाट कार्ड लिएका किसानबाट भने तीस रुपैयाँ कर लगाइएको छ भने अन्य स्थानीय तहबाट आयात गरिएको हकमा कृषकहरुले हरेक दिनको ५० रुपैयाँ कर बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

धनगढी बाहेक अन्य पालिकाको सिफारिसमा हाट बजारमा आएका किसानले पनि हरेक दिनको पचास रुपैयाँ कर बुझाउनुपर्ने व्यवस्था रहेको उपमहानगरले जनाएको छ। उपमहानगरले ठेक्का पाएको कम्पनीले साइकल, मोटरसाइकल र टोकरीबाट कर उठाउन नपाउने बताएको छ। कम्पनीले सम्झौता बिपरित सर्वसाधारणसँग कर असुल गरेमा सोझै रसिद सहिद उपमहानगरपालिकामा उजुरी दिन नगर प्रमुख हमालले आग्रह गरेका छन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस