सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा उपमहानगरको बजार अनुगमन, तीनवटा पसललाई जरिबाना

२०८० कार्तिक १५, ०९:२२ नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिएको छ।

उपमहानगरको बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण समितिले कात्तिक १२ गते धनगढीका १० वटा पसलमा अनुगमन गरेको हो। सर्वसाधारणको गुनासो आएपछि वडा नम्बर १, ५ र ८ मा रहेका विभिन्न १० वटा डेरी, पसल र नास्ता पसलमा गरिएको अनुगमनका क्रममा तीनवटा पसललाई जरिबाना गरिएको छ।

बाँकी पसललाई व्यवसाय नवीकरण र दर्ता गर्न ७ दिनको म्याद दिइएको बजार अनुगमन टोलीका संयोजक नारायणप्रसाद शर्माले बताए। बजार अनुगमन टोलीले वडा नम्बर १ को शिवनगरमा रहेको हाम्रो डेरी, वडा नम्बर १ मै रहेको कैलाशेश्वरी डेरी र वडा नम्बर ८ मा रहेको मयुर डेरीलाई जनही एक हजार रुपैयाँ जरिबाना गरिएको शर्माले बताए।

तीनै डेरीमा बालाजी कम्पनीको लेबल नभएको आइसक्रीम बिक्री गर्न राखेको पाइएकाले जरिबाना गरिएको हो। बजार अनुगमन टोलीले वडा नम्बर ५ मा रहेको छिमेकी डेरी तथा नास्ता पसल दर्ता नभई सञ्चालनमा रहेको फेला पारेको छ। छिमेकी डेरीमा बिक्रीका लागि राखिएको दूध ल्याक्टो मिटरले नाप्दा २२ दशमलव ५ अङ्क मात्रै देखाएकाले दूधको शुद्धतामा ध्यान दिन निर्देशन दिइएको छ।

यसैगरी, वडा नम्बर ५ मै रहेको साझा नास्ता पसल, कैलाशेश्वरी डेरी, वडा नम्बर १ मा रहेको एनएच मार्ट, वडा नम्बर ८ को क्याम्पस चोकमा रहेको नवीन नास्ता पसल र चित्रा डेरी तथा मिष्ठान पनि दर्ता बिना सञ्चालनमा रहेको पाइएको छ। यस्तै, वडा नम्बर १ मा रहेको सीताराम डेरी एण्ड एग्रोटेकलाई सरसफाइमा ध्यान दिन सुझाव दिइएको अनुगमन टोलीका संयोजक शर्माले बताए।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस