सुदूर नेपाललाई विश्वसँग जोड्दै

टी–२० विश्वकप छनोट: नेपाल र सिंगापुर भिड्दै

२०८० कार्तिक १३, ०७:०६ खबर संवाददाता

काठमाडौँ: आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा स्थान पक्का गर्ने लक्ष्यसहित एसियाली क्षेत्रका आठवटा राष्ट्र सोमबारदेखि नेपालका दुईवटा रंगशालामा प्रतिस्पर्धा गर्दैछन्। 

छनोट प्रतियोगिताको पहिलो दिन सोमबार चारवटा खेल हुनेछन्। कीर्तिपुर मैदानमा नेपाल र सिंगापुरबिच खेल हुनेछ । उक्त खेल नेपाली समयअनुसार, बिहान ९ बजे सुरु हुनेछ। सोही समयमा मुलपानी क्रिकेट मैदानमा बहराइन र यूएईबिच दोस्रो अर्को खेल हुनेछ। यसैगरी सोमबार नै कीर्तिपुर मैदानमा मलेसिया र ओमानबिच तेस्रो खेल हुनेछ। त्यो खेल नेपाली समयअनुसार, दिउँसो १ः१५ बजे सुरु हुनेछ। सोही समयमा मुलपानी क्रिकेट मैदानमा हङ्कङ र कुवेतबिच चौथो खेल खेलाइने छ। 

आगामी टी–२० विश्वकपका लागि एसियाली क्षेत्रको यो अन्तिम छनोट प्रतियोगिता हो। यो प्रतियोगिताबाट दुईवटा राष्ट्र आगामी टी–२० विश्वकपमा छनोट हुनेछन्। आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आयोजना हुँदैछ। एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा आयोजना नेपालसहित संयुक्त अरब इमिरेट्स (यूएई), हङ्कङ, ओमान, बहराइन, कुवेत, मलेसिया र सिंगापुरको सहभागिता रहने छ। प्रतियोगिता खेलहरू कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा र मुलपानी क्रिकेट मैदानमा खेलाइने छ।

प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजना गरिएको छ । प्रतियोगिताको समूह ‘ए’ मा आयोजक राष्ट्र नेपाल, मलेसिया, ओमान र सिंगापुर रहेका छन्। समूह ‘बी’ मा भने बहराइन, हङ्कङ, कुवेत र यूएई रहेका छन् । 

कमेन्ट लोड गर्नुस