सुदूर नेपाललाई विश्वसँग जोड्दै

जयगढ–रामारोशन सडकको बल्दे खोलामा पुल निर्माणको काम अलपत्र

२०८० कार्तिक १२, १०:४७ कमल सावद

रामारोशनः अछामको जयगढ–मुजाबगड–रामारोशन सडकमा पर्ने खोलामा पुल निर्माणको काम अलपत्र छोडिएको छ। जिल्लाको रामारोशन गाउँपालीका वडा नम्बर ४ र ५ मा पर्ने बल्दे खोलामा पक्की पुल निर्माणको काम अलपत्र छोडिएको हो।

पुल निर्माण सम्झौताको समयावधि सकिनै लाग्दा निर्माण कम्पनीले दुईवटा मात्र पिल्लर निर्माण गरेको छ। पूर्वाधार विकास कार्यालय साँफेबगरका अनुसार २०७९ जेठमा पुल निर्माणको ठेक्का सम्झौता भएको हो। इन्द्र धनु अछाम निर्माण सेवा टीकापुरले २०८० असार २० गते भित्र पुल निर्माणको काम पूरा गर्नुपर्नेमा आधासमेत काम भएको छैन।

चार करोड १५ लाखको लागतमा २४ मिटरको पुल निर्माणका सुदूरपश्चिम सरकार मातहतको पूर्वाधार विकास कार्यालयले ठेक्का सम्झौता गरेकोमा काम अलपत्र छोडिएको हो। रामारोशन पर्यटकीय क्षेत्रसम्म आउने यात्रुले खोलामा पुल नभएपछि सास्ती पाउने गरेका छन।

रामारोशन गाउँपालिका क्षेत्रका नागरिकलेसमेत खोलामा पुल नभपछि समस्या झेल्दै आएका छन्। पैदल यात्रीका लागि झोलुङ्गे पुल भएपनि सवारी साधनका लागि पुल नभएकाले समस्या हुने गरेको हो। निर्माण कम्पनीले पुल निर्माणको काम अलपत्र पारेका बेला पूर्वाधार कार्यालय अछाम भने म्याद थपको प्रक्रियामा छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस