सुदूर नेपाललाई विश्वसँग जोड्दै

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेर्रेसले संसदमा सम्बोधन गर्ने

२०८० कार्तिक १२, ०८:१८ खबर संवाददाता

काठमाडौँः संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसको सम्बोधनका लागि सङ्घीय संसद् सचिवालयले आन्तरिक तयारी अघि बढाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा छन्।

सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधनको व्यवस्था गर्न सरकारले गरेको पत्राचार अनुसार सचिवालयले आन्तरिक तयारी थालेको हो। सचिवालयले बैठक कक्षको सजावटलगायतका काम अघि बढाएको छ। आइतवार पनि प्रतिनिधि सभाको बैठक डाकिएकाले केही तयारी भने बैठकपछि मात्र हुने छ। 

महासचिव गुटेर्रेसले मङ्गलवार सङ्घीय संसद्का दुवै सदनको बैठकमा सम्बोधन गर्ने कार्यतालिका तय भएको छ। सम्बोधनको जानकारी आइतवार प्रतिनिधि सभामा पनि दिने तयारी छ। 

मङ्गलवार अपराह्न बस्ने संयुक्त बैठकमा गुटेर्रेसले सम्बोधन गर्ने छन। सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले सचिवालयले तयारीलाई अन्तिम चरणमा पु¥याएको बताए। 

महासचिव गुटेर्रेसले संसद् भवनकै स्काई हलमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई सामूहिक रूपमा भेटको कार्यक्रम पनि तय भएको छ। स्काई हलका भेट र प्रतिनिधि सभाको बैठकका कारण संयुक्त बैठक बस्ने प्रतिनिधि सभाको बैठक कक्षको आन्तरिक सजावट भने आइतबारपछि मात्र गर्न लागिएको हो। 
 

कमेन्ट लोड गर्नुस