सुदूर नेपाललाई विश्वसँग जोड्दै

टी–२० विश्वकप क्वालिफायरका लागि नेपाली टीम घोषणा, सन्दीपको कमब्याक

२०८० कार्तिक ११, १०:२० खबर संवाददाता

काठमाडौं: घरेलु मैदानमा हुने टी–२० विश्वकप क्वालिफायरका लागि नेपाली टीम घोषणा गरिएको छ। रोहित पौडेलको कप्तानीमा घोषित १५ सदस्यीय टीममा स्पिनर सन्दीप लामिछानेले कमब्याक गरेका छन्। ​

सन्दीपले परिवारलाई समय दिने भन्दै त्रिकोणात्मक टी–२० आई सिरिज खेलेका थिएनन्। नेपालले अन्य खेलाडी भने परिवर्तन गरेको छैन। अन्तिम १५ मा विकेटकिपर विनोद भण्डारी र विवेक यादवले स्थान बनाएका छन्। ​

त्रिकोणात्मक सिरिजमा भएका सूर्य तामाङ, लोकेश बम, सागर ढकाल र श्याम ढकाल बाहिरिएका छन्।​ आइसिसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखि २० गते सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदैछ। समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन्। 

समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन्। फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि–२० विश्वकप खेल्न पाउनेछन्। नेपाल उपाधिको प्रमुख दाबेदार टोली हो। 

टोलीमा को को?

रोहित पौडेल कप्तान, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी। 

कमेन्ट लोड गर्नुस