सुदूर नेपाललाई विश्वसँग जोड्दै

इजरायलमा मारिएका गणेशको शव आफन्तलाई पठाइयो 

२०८० कार्तिक १०, १०:३५ खबर संवाददाता

धनगढीः हमासको आक्रमणमा परी इजरायलमा मृत्यु भएका बझाङको जयपृथ्वी नगरपालिका–६ का गणेशकुमार नेपालीको शव बझाङ पठाइएको छ।

काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहीवार बिहान ८ बजे धनगढी ल्याइएको नेपालीको शव राति १ बजे बझाङ पठाइएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। फ्लाई दुबईको विमानमार्फत् बिहीबार बिहान ७ बजे नेपालीको शव काठमाडौं पुगेको थियो।

सूचना अधिकारी जोशीका अनुसार राति १ बजे शव धनगढी पुगेको थियो। सोही समय धनगढी नेत्रालयको एम्बुलेन्समार्फत् शवलाई बझाङ् पठाइएको हो। नेपालीको आजनै हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिने उनको भनाइ छ।

इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० विद्यार्थीमध्ये चार जनाको शव आइतबार आफन्तको जिम्मा लगाइएको थियो। नेपालीको शव बिहिबार राति धनगढी पुगेसँगै पाँच जनाको शव आफन्तको जिम्मा लगाइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। हमासको आक्रमणबाट मारिएकामध्ये सात जना सुदूरपश्चिम प्रदेशका छन्।
 

कमेन्ट लोड गर्नुस