उपाधिका लागि नेपाल र यूएई खेल्दै
काठमाडौं: काठमाडौंमा जारी त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजको उपाधिका लागि आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै छ। बिहान ११ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा यूएईलाई लगातार तेस्रोपटक पराजित गर्दै सिरिजको उपाधि जित्ने योजनामा नेपाल हुनेछ।
बुधबार हङकङसँग पराजित भएपनि नेटरन रेटका आधारमा यूएई फाइनल प्रवेश गरेसँगै नेपालको प्रतिद्धन्दी टुङ्गो लागेको हो। सिरिजका चारै खेलमा शानदार जित सहित नेपाल यसअघिनै सिरिजको फाइनल प्रवेश गरिसकेको छ।
समान एक खेलमा जित हात पारेपनि हङकङको तुलानमा यूएईको रनरेट राम्रो देखिएको हो। बुधबारको खेलमा हङकङले यूएईलाई ६९ रनले पराजित गर्यो। हङकङले प्रस्तुत गरेको २ सय १२ रनको विशाल लक्ष्य पछ्याएको यूएई ५ विकेट गुमाएर १ सय ४३ रनमा समेटियो। यूएईका खालिद साहले ३५ रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहेन।
सुरुआती ब्याटिङ गरेको हङकङले निर्धारित ओभरमा ३ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो। हङकङका लागि मार्टिन कोइत्जीले सर्वाधिक ८६ रन बनाएका थिए। बाबर हायातले २० बलमा अविजित ६० रनको विस्फोटक इनिङ्स खेलेका थिए।