सुदूर नेपाललाई विश्वसँग जोड्दै

टी–२० त्रिकोणात्मक क्रिकेटको उपाधिका लागि नेपाल र यूएई भिड्ने

२०८० कार्तिक ८, ०५:३९ खबर संवाददाता

काठमाडौँः  काठमाडौँको मूलपानी क्रिकेट मैदानमा जारी टी–२० त्रिकोणात्मक क्रिकेट श्रृंखलाको उपाधिका लागि नेपाल र यूएई भिड्ने भएका छन्। लिग चरणका खेलमा तेस्रो टिम हङकङ पुछारमा रहेपछि शीर्ष दुई टिम नेपाल र यूएईले फाइनल खेल्ने भएका हुन्।

नेपालले दुवै टिमसँगका चार खेल जितेर अपराजित रहँदै फाइनलमा स्थान बनाएको हो। यूएईले भने हङकङसँग बराबरी गरेको भए पनि रनरेटमा अगाडि रहेसँगै फाइनलमा पुगेको हो। फाइनल खेल शुक्रवार हुनेछ। यसअघिको खेलमा यूएईले हङकङलाई हराएको थियो भने बुधवार भएको अन्तिम खेलमा हङकङले यूएईलाई ६९ रनले हरायो। फराकिलो जित हासिल गरेर यूएईसँग समान २ अंक जोडेको भए पनि रनरेटमा हङकङ पछाडि परेको हो।

पहिले ब्याटिङ गरेको हङकङले ३ विकेटको क्षतिमा २१२ रन बनायो। मार्टिन कोट्जेले ५५ बलमा ८६ रन बनाए। बाबर हायातले २० बलमा अविजित रहँदै ६० रन जोडे भने आंशि साथले ४१ रन बनाए। जवाफमा यूएईले ५ विकेटको क्षतिमा १४३ रनमात्र बनायो। टी–२० विश्वकप छनोटको तयारीका लागि यो श्रृंखला भइरहेको हो।
 

कमेन्ट लोड गर्नुस