सुदूर नेपाललाई विश्वसँग जोड्दै

खोलामा गाडेको एम - १६ राइफल फेला

२०७६ वैशाख १७, ०७:४२

मोरङको मिक्लाजुङ गाउँपालिका ६ स्थित बक्राहा नुनसरी खोलामा एम - १६ राइफल फेला परेको छ। खोलामा गाडिएको अवस्थामा एम - १६ राइफल प्रहरीले खनेर निकालेको हो। मोरङ प्रहरीका अनुसार राइफल गाडेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय मधुमल्लाबाट आइतबार साँझ प्रहरी खटिएको थियो।

प्रहरीले गाडेको स्थानबाट एक थान राइफल, म्यागजिन र छ राउन्ड गोली फेला पारेको मोरङ प्रहरीले जनायो। प्रहरीका अनुसार हतियार जीर्ण अवस्थाको छ। उक्त हतियार लामो समयदेखि लुकाइएको हुनसक्ने अनुमान प्रहरीको छ।एम - १६ राइफल नेपाली सेनाले मात्र प्रयोग गरिरहेको आधुनिक हतियार हो। सशस्त्र द्वन्द्वको उत्तरार्द्धमा सेनाले उक्त हतियार भित्र्याएको थियो। मोरङ प्रहरीका उपरीक्षक मनोज केसीले हतियारबारे अनुसन्धान भइरहेको बताए।

उक्त राइफल सशस्त्र द्वन्द्वताका सेनाबाट माओवादीले लुटेको हुनसक्ने अनुमान गरिएको छ। ‘हतियार काम नलाग्ने तथा अत्यन्तै जीर्ण छ,’ केसीले भने, ‘उच्चस्तरको हतियार भएको हुनाले यसबारे अनुसन्धान थालेका छौं।’ हतियार अस्थिपञ्जर जस्तै अवस्थामा रहेकाले यो निकै पहिले गाडेको हुनसक्ने केसीले बताए। स्थानीयले खोलामा केही अनौठो चिज देखिएको खबर गरेपछि प्रहरी टोलीले गएर खोतल्दा राइफल फेला परेको थियो।  साभार - सेतोपाटी 
 

कमेन्ट लोड गर्नुस