नेपालले दियो यूएईलाई २८१ रनको लक्ष्य

एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा नेपालले यूएईलाई २८१ रनको लक्ष्य दिएको छ। मलेसियाको क्वालाम्पुरस्थित बायोमास ओभलमा आज बिहान टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रन बनाएको हो।
नेपालका लागि कप्तान देव खनालले सर्वाधिक १०० रन बनाए। ९२ बल खेलेका उनले ९ चौका ३ छक्का प्रहार गरे। यस्तै उत्तम थापामगरले ५७ र अर्जुन कुमालले ५५ रन बनाए। दीपक डुम्रेले २८ रन बनाए। नेपालले समूह चरणका तीन वटै खेलमा जीत हात पारेको थियो। नेपालले आफ्नो पहिलो खेलमा इरानलाई २ सय ७४ रन, दोस्रो खेलमा बहराइनलाई ७ विकेट र तेस्रो खेलमा साउदी अरेबियालाई ३ सय २ रनले पराजित गरेको थियो।
वर्षाले प्रभावित सेमिफाइनलमा नेपालले जापानविरुद्ध १ सय ४३ रनको फराकिलो जित निकालेको थियो। सेमिफाइनल प्रवेश गरेसँगै एसिया कपमा लागि छनोट भइसका नेपाल र युएई भारत र पाकिस्तान सम्मिलित समूह ए मा छन्। एसिया कप डिसेम्बरमा पाकिस्तानमा आयोजना हुँदै छ।

