सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा आर्थिक अनियमितताको चाङ, ३४१ मुद्दा अख्तियारमा दर्ता

२०८० कार्तिक ६, १०:५९ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशभित्र आर्थिक अनियमितता विरुद्धका उजुरी दैनिक रुपमा बढ्न थालेको तथ्य बाहिर आएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा चालु आर्थिक वर्ष सुरु भएको तीन महिनाको अवधिमा मात्र यस्ता तीन सय ४१ मुद्दा दर्ता भएको पाइएको हो।

स्थानीय तहसँग सम्वन्धित उजुरीको संख्या सबैभन्दा बढी देखिएको छ। करिब ३५ प्रतिशत भन्दा बढी उजुरी स्थानीय तहसँग सम्वन्धित रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जनाएको छ। तीन तहका सरकारबाट सञ्चालित योजनामा हुने अनियमितता विरुद्ध पछिल्लो समय धमाधम अख्तियारमा उजुरी पर्न थालेको हो।

उजुरीकर्ताले विभिन्न माध्यमबाट दैनिक रुपमा अनियमितता विरुद्धका उजुरी अख्तियारमा दर्ता गराउन थालेका छन्। सबैभन्दा बढी उजुरी साउन महिनामा दर्ता भएका छन्। इमेलबाट ४१, टेलिफोनबाट १६, लिखित निवेदन ४० र हुलाकी सेवाबाट ६४ गरी साउन महिनामा मात्र एक सय ७३ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा दर्ता भएको पाइएको हो।

अनिमितता विरुद्धका उजुरीको संख्या भदौ महिनामा ८५ तथा असोज महिनमा ८२ गरी तीन महिनाको अवधिमा तीन सय ४१ मुद्दा दर्ता भएको कार्यालयको तथ्यांकले देखाएको छ। सबैभन्दा बढी स्थानीय तह, त्यसपछि प्रदेश र संघीय सरकारबाट सञ्चालित विभिन्न योजनाको विषयमा कार्यालयमा उजुरी परेको हो।

सार्वजनिक निर्माण, निर्माणमा अनियमितता, पदीय दुरुपयोग गरेर कामकारबाही गरेको लगायत विषयमा अख्तियारमा उजुरी पर्ने गरेको कार्यालयले जनाएको छ। अख्तियारमा परेका उजुरीमाथि कारबाही प्रक्रिया समेत अघि बढाइएको अख्तियारले बताएको छ।

No description available.

कमेन्ट लोड गर्नुस