सुदूरपश्चिम चिनाउने ‘ट्राभल डायरी’ को विमोचन
धनगढीः कैलाली च्याम्बर अफ कमर्सले प्रदेशका ९ वटै जिल्लाका पर्यटकीय क्षेत्र समेटिएको ‘माई ट्राभल डायरी’ को विमोचन गरेको छ। शनिवार अत्तरियामा आयोजित एक कार्यक्रमका बीच प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले ट्राभल डायरीको विमोचन गरेका हुन।
ट्राभल डायरीमा सुदूरपश्चिमका नौ वटै जिल्लाका पर्यटन क्षेत्रहरूको फोटो सहित विभिन्न जानकारी समेटिएको कैलाली च्याम्बर अफ कमर्सका अध्यक्ष विनोद मल्लले बताए। उनले सुदूरपश्चिम घुम्न चाहनेका लागि च्याम्बरको तर्फबाट ट्राभल डायरी कोशेलीको रुपमा वितरण गरिने बताए। ट्राभल डायरीको पहिलो कबर पृष्ठमा कर्णाली, खप्तड, रामारोशन,सैपाल, वनक्षेत्र, शुक्लाफाँटा, अमरगढी किल्ला, रैलेश्वरकेदार र अपिहिमालका तस्बिर राखिएका छन। त्यस्तै ट्राभल डायरीको अन्तिम कबर पृष्ठमा सुदूरपश्चिमका धार्मिक पर्यटकीय क्षेत्र राखिएको छ।
डायरी भित्रको पहिलो पानामा धनगढीबाट सुदूरपश्चिमका कुनकुन पर्यटकीय क्षेत्रमा पुग्न लाग्ने समय र दुरी देखाइएको छ। त्यसपछिका पानामा हरेक जिल्लाका पर्यटकीय क्षेत्रका तस्बिर राखेर बीचमा टिपोट गर्न सहज होस भन्नका लागि ५÷५ पाना खाली छोडिएको छ। विमोचन कार्यक्रममा बोल्दै मन्त्री धामीले सुदूरपश्चिमको पर्यटन विकासको लागि बोल्ने मात्रै नभएर काम गर्ने समय आएको बताए। उनले कैलाली च्याम्बरले ल्याएको ट्राभल डायरीले प्रदेशको पर्यटन क्षेत्रको विकासका सहयोग पुग्ने बताए।