‘गेटामा चिकित्सा शिक्षा विश्वविद्यालयका लागि पनि अस्पताल चाहिन्छ’
धनगढीः कैलालीको गेटामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल सञ्चालन गरेपछि नागरिकमा दुविधा देखिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्माण गरेको भौतिक संरचनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल सुचारु गरेपछि नागरिकमा दुविधा भएको हो।
तर शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कुनै दुविधा नभएको स्पष्ट पारेको छ। मन्त्रालयले चिकित्सा विश्वविद्यालयका लागि समेत अस्पताल आवश्यक पर्ने भएकाले दुविधामा पर्नु नपर्ने स्पष्ट पारेको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालयका लागिसमेत अस्पताल सञ्चालन आवश्यक रहेको बताए। उनले भने, ‘चिकित्सा शिक्षा विश्वविद्यालयको कानुन निर्माणको काम पूरा भएको छैन।
गेटामा सरकारले अस्पताल र चिकित्सा शिक्षा अध्यापनका लागि काम गर्दैछ। शिक्षा मन्त्रालय वा स्वास्थ्य मन्त्रालयको विषय रहेन। नेपाल सरकारको विषय हो। चिकित्सा शिक्षा विश्वविद्यालयको कानुन तयार भएपनि स्वयत्त हुन्छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या कुनै पनि मन्त्रालयको मातहतमा हुँदैन।’ कैलालीको गेटामा नेपालमा नै पहिलो पटक राष्ट्रिय चिकित्सा विश्वविद्यालय सञ्चालनका लागि कानुन निर्माणको चरणमा छ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको विधेयक मन्त्रीपरिषदबाट स्वीकृत भएर राष्ट्रिय सभामा पेस भएको छ। राष्ट्रिय सभाले गेटामा अस्पताल सञ्चालन, अस्पतालको क्षमता, कर्मचारी व्यवस्थापन, आर्थिक स्रोत, चिकित्सा शिक्षा लगाएयका विषयमा कानुनी व्यवस्था गर्ने छ। सभाले पारित गरेको ऐन अनुसार अहिले स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेका १४१ जना कर्मचारी र भर्ना भएका चिकित्सकसहितका कर्मचारीको विषयमा समेत सम्बोधन हुने सापकोटाले बताए।
उनले भने, ‘विधेयकमा ६ सय शय्या नै हुन्छ भन्ने होइन। विधेयक राष्ट्रिय सभाको सम्पति भएको छ। परिवर्तन समेत हुन सक्छ। तर, अस्पताल र अध्यापनको लागि पूर्ण काम हुन्छ। चिकित्सा विज्ञानमा पहिलो विश्वविद्यालय हुन्छ। नेपालमा एक मात्र हुन्छ, होला। सुदूरपश्चिमका लागि ठुलो उपलब्धि हो। जुन कैलालीमा स्थापना हुँदैछ।’ कैलालीको गेटामा २०८० कात्तिक १ गतेबाट अस्पताल सुरु भएको छ।
सुरुको दिन १८ जना बिरामीले सेवा लिएकोमा दोस्रो दिन १९ जना बिरामीले सेवा लिएको अस्पताल प्रशासनले जनाएको छ। २०८० भदौ १३ गतेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव स्तरको निर्णय अनुसार वार्षिक विकास कार्यक्रम स्वीकृत भएको थियो। चालु आर्थिक वर्षमा चालु तर्फ तीन करोड ५० लाख र पुँजीगत बजेट तर्फ ८० करोड विनियोजन गरिएको छ।
चिकित्सा शिक्षा विश्वविद्यालयको जनशक्ति व्यवस्थापनको काम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले बताए। उनले भने, ‘चिकित्सा शिक्षा विश्वविद्यालयका लागि अस्पताल चाहिन्छ। विश्वविद्यालयमा अध्यापनसहित अस्पतालसमेत सञ्चालन गर्नैपर्ने हुन्छ। विश्वविद्यालयमा अध्यापनका लागि तीन वर्ष अस्पताल सञ्चालन भएको हुनुपर्छ। अस्पताल सञ्चालनका लागि कर्मचारी हामीले पठाउने हो।
मेडिकल कलेजका अस्पतालहरुमा स्वास्थ्य मन्त्रालयले कर्मचारीको स्वीकृत दिने हो। विश्वविद्यालय स्वयक्त होला। भित्री काम गर्दा समस्या भएन। कार्यकारी परिसदहरुले काम गर्ने हो। सानोतीनो निर्णयका लागि मन्त्रालयलाई कुर्नु पर्दैन भन्ने मात्र हो।’
गेटामा ओपिडी सञ्चालनका लागि मन्त्रालयले भदौ २१ गते अनुमति दिएको थियो।
सेती प्रादेशिक अस्पतालकै सेवा शुल्कमा गेटा अस्पतालबाट जनरल ओपिडी, हाडजोर्नी तथा नसारोग ओपिडी, स्त्री सेवा, जनरल सर्जरी, अल्ट्रासाउन, एक्सरे, प्रयोगशाला सेवा र फार्मेसी सेवा सञ्चालनमा ल्याइएको छ। साथै एमसीएच क्लिनिक सेवा कात्तिक महिनाभित्र, खोपसेवा विस्तार र अन्तर्ङ सेवा मंसिर महिनाभित्र, इमरजेन्सी सेवा र प्रसुती सेवा पौष महिनाभित्र, शल्यक्रिया सेवा विस्तार चैत महिनाभित्र, आइसियु तथा एनआइसियु सेवा आगामी बैशाखभित्र सञ्चालनमा ल्याउने तयारी छ।