हङकङमाथि नेपालको शानदार जित

काठमाडौं: त्रिकोणात्मक क्रिकेट सिरिजमा नेपालले हङकङलाई ६ विकेटले हराएको छ। हङकङले प्रस्तुत गरेको ९५ रनको लक्ष्य नेपालले १३ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो।
ओपनर आसिफ शेखले ४२ रन बनाएको इनिङ्समा कप्तान रोहित पौडेलले अविजित २५ रन बनाए। गुल्सन झा १४ रनमा नकआउट रहदाँ कुशल भुर्तेलले ८, कुशल मल्लले १ र सन्दीप जोराले ३ रन बनाएका थिए। हङकङका इसान खानले ३ तथा यासिम मुर्ताजाले १ विकेट हात पारे। सुरुआती ब्याटिङ गरेको हङकङ ३ बल अगावै ९४ रनमा अलआउट भएको थियो।
मुलपानीमा टस जितेर फिल्डिङ गर्ने कप्तान रोहित पौडेलको निर्णयलाई सहि सावित गर्दै तिव्र गतिका बलर करन केसीले ४ विकेट लिएपछि हङकङको ब्याटिङ लाइन धरासायी बनेको थियो। हङकङले नेपालको तिव्र गतिको बललाई खेल्नै सकेनन्। स्पिनरलाई समेत उनीहरुले झेल्न सकेनन्। नेपालका लागि सोमपाल कामी र अविनास बोहोराले समान दुई तथा कुशल मल्ल र मौषम ढकालले समान एक विकेट लिएपछि हङकङ ९४ रनमा समेटिएको हो।
हङकङका लागि यासिम मुर्ताजाले ३६ रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन। जिसान अलीले १७ रन बनाए। अन्यले दोहोरो अंक समेत छुन सकेनन्। नेपालले त्रिकोणात्मक क्रिकेट सिरिजमा लगातार दोस्रो जित दर्ता गरेको छ। नेपालले सिरिजको पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको थियो।
टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप नेपाल क्रिकेट संघ क्यानले सिरिजको आयोजना गरेको हो । सिरिजमा नेपाल सहित यूएई र हङकङ समावेश छन्। सिरिजको फाइनल खेल कात्तिक १० गते शुक्रबार त्रिवि मैदान कीर्तिपुरमा हुनेछ।


