सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सार्वजनिक यातायातको टिकट बिक्रीमा कालोबजारी

२०८० कार्तिक २, १०:५१ कमल सावद

धनगढीः कैलालीको धनगढीमा सार्वजनिक यातायातको टिकट बिक्रीमा कालोबजारी हुँदै आएको छ। सार्वजनिक यातायात प्रालिका कान्टरबाहेक अन्य क्षेत्रमा खरिद–बिक्री हुने टिकटको मूल्य झण्डै दोब्बर छ।

धनगढी बसपार्कको टिकट काउन्टरमा टिकट नपाउने र बाहिर महंगोमा टिकट खरिद गर्नुपर्ने यात्रुको बाध्यता छ। दशैँको समय नजिकिएसँगै धनगढी बसपार्क क्षेत्रमा कालोबजारीमा टिकट बिक्री गर्नेको संख्यासमेत बढेको छ। सार्वजनिक यातायात प्रालिका सञ्चालकहरुले अन्य समयको भन्दा बढी सवारी सञ्चालन गर्दै आएको बताएपनि यात्रुले टिकट नपाएका हुन्।

बसपार्कका काउन्टरमा टिकट नपाएपछि महंगोमा टिकट खरिद गर्नु परेको एक यात्रुले दिनेखबरसँग गुनासो पोख्दै भने। उनका अनुसार बसको नम्बर र यातायात प्रालिको नामसमेत नभएका टिकट बिक्री हुँदै आएका छन्। उनले भने, ‘अग्रिम टिकट खरिदका लागि बसपार्कमा गएको थिए। बसपार्कमा टिकट पाइएन। उहाँहरुले बाहिर जान भन्नु भयो। बाहिर टिकट पाए। तर, पैसा धेरै लिए। मैले एक हजार रुपैयाँ बढी तिरेर टिकट खरिद गरेको छु। यो टिकटमा प्रालिको नाम छैन। कागजको खोस्टो जस्तो छ।’ धनगढी बसपार्कमा टिकट खरिदका लागि बुधवार पुगेका उनले मंहगोमा टिकट खरिद गरेका हुन्। 

धनगढी बसपार्कबाट पहाडी जिल्लामा जाने यात्रुका लागि अग्रिम टिकट बुकिङ्ग खुला गरिएको छ। तर, बसपार्कका काउन्टहरुमा टिकट पाउन समस्या हुने गरेको छ। सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले बसपार्कभन्दा बाहिरबाट टिकट खरिद नगर्न आग्रह गरेका छन्। उनले भने, ‘दुई नम्बरीमा टिकट बिक्री हुँदै आएको गुनासो आएको छ। हामीले भेटाएमा कारबाही समेत गछौ। यात्रुले पनि सचेत हुनु पर्यो।’ तर, धनगढी बसपार्कका काउन्टहरुमा टिकट नपाउने र बाहिर महंगोमा टिकट खरिद गर्नुपर्ने बाध्यता रहेको यात्रुले बताएका छन्। सापकोटाले भने, ‘हाम्रो कम्पनीको समस्या छैन। हामीहरुले टिकट काउन्टरबाट बिक्री गर्दै आएका छौ। तर, केही कम्पनीका साथीहरुले होटल–होटलबाट टिकट बिक्री गर्दै आउनु भएको छ। उहाँहरुले काउन्टरमा टिकट छैन भन्नु हुन्छ। होटलबाट महंगो भाडा लिएर पठाउनु हुन्छ।’ 

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख दीपक मल्लले बसपार्कबाट महंगो टिकट शुल्क लिएर कालोबजारी गर्ने यातायातलाई कारबाही गर्दै आएको बताए। उनका अनुसार केही यातायातका सञ्चालकहरुलाई कारबाही गरिएको छ। रिभर साइडको २२३९ नम्बरको बझाङ जाने बसलेसमेत कालोबजारीमा टिकट बिक्री गरेको सूचना आएको छ। उक्त बसलाई समेत कारबाही गर्ने मल्लेले बताए।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस