सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा रुख कटानी प्रकरणः उद्योग वाणिज्य संघका अध्यक्ष र शिक्षक पक्राउ

२०८० कार्तिक १, ०४:१३ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा रुख काटेको आरोपमा थप दुई जना पक्राउ परेका छन्। यसअघि रुख काटेको आरोपमा पक्राउ परेका बेलौरी नगरपालिका–६ का वडाध्यक्ष भोजराज चौधरी रिहा भएका थिए। उनलाई हाजिरी जमानीमा छाडिएको थियो। वडा अध्ययक्ष चौधरी बेलौरी छोटी भन्सार कार्यालय परिषरभित्र रहेको झाँडी सफाईका क्रममा रुख काटेको आरोपमा पक्राउ परेका थिए।

वडाध्यक्ष चौधरीलाई डिभिजन वन कार्यालय कञ्चनपुरले महेन्द्रनगरबाट पक्राउ गरेको थियो। पक्राउ परेका वडाध्यक्ष चौधरीलाई हाजिरी जमानीमा रिहा गरिएको भए पनि आज पुनः दुई जना सोहि विषयमा पक्राउ परेका छन्। बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरासिह विष्ट र पुर्व शिक्षक केशवराज जोशीलाई पक्राउ गरिएको वन कार्यालय कञ्चनपुरले जनाएको छ।

झाँडी सफाईका क्रममा सरकारी कार्यालय परिषसरभित्र रहेका रुख कटानी गरिएको भन्दै दुबै जनालाई पक्राउ गरिएको हो। यसअघि वडाध्यक्ष चौधरी सहित बिरुद्ध उजुरी परेपछि वडाध्यक्ष चौधरीलाई पक्राउ गरिएको थियो। डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीमप्रशाद कँडेलले सरकारी वकिल कार्यालयको राय अनुरुप वडाध्यक्ष चौधरीलाई हाजिरी जमानीमा रिहा गरेको बताए।

वडाध्यक्ष रिहा भएपनि मुद्दा भने जारी रहेको प्रमुख कँडेलले बताए। अनुमती बिना रुख कटानी गरेपछि वडाध्यक्ष चौधरीलाई पक्राउ गरिएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख कँडेलले बताए। संघीय सरकार मातहत रहेको बेलौरी छोटी भन्सार संचालनका लागि १३ साउनमा वडाकै अगुवाईमा झाँडी सफाई गरिएको थियो।

भन्सार क्षेत्रबाट काटिएका रुख र दाउरा वनले नियन्त्रणमा लिएको थियो। सव डिभिजनवन कार्यालय कुण्डाका प्रमुख दिनेशकुमार यादवले गोलिया ११९ क्युफिट र २ चट्ठा दाउरा वनले नियन्त्रण गरेर राखेको बताए। कैलाली भन्सार कार्यालय मातहत रहेको बेलौरी छोटी भन्सार कार्यालय परिषरमा रहेका रुख काटेपछि भन्सार कार्यालय समेत रुष्ट भएको छ। भन्सारले वनलाई रुख कटानी गर्नेमाथि कार्बाहीको माग अघि सारेर पत्राचार गरेको थियो।

बेलौरी छोटी भन्सार कार्यालय परिसरमा सरसफाईका नाममा रुख कटानी सम्बन्धी थप अनुसन्धानका लागि भन्दै वन कार्यालयले थप दुई जनालाई पक्राउ गरेको हो। कुण्डा सव–डिभिजन वन कार्यालय पचकडियाले बेलौरी छोटी भन्सार कार्यालय परिसरमा झाडी सरसफाईका नाममा रुख कटानी प्रकरणमा दुई जना आरोपितलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरासिह विष्ट र पुर्व शिक्षक केशवराज जोशी छन्। दुबै जना विरुद्ध मुद्दा दायर गर्ने तयारी छ। अर्का आरोपी मदनसिंह बोहरा भने फरार रहेको वन कार्यालयले जनाएको छ।रुख फडानी विषयमा अनुसन्धानको जिम्मेवारी कुण्डा सव–डिभिजन वन कार्यालय पचकडियाका प्रमुख दिनेशकुमार यादवले पाएका थिए। उनीहरु पाँचै जना बिरुद्ध बिना इजाजत रुख बिरुवा काटेको विषयमा मुद्दा दायर भएको छ। आजै थुनछेक बहस हुने समेत वन जनाएको छ।

कमेन्ट लोड गर्नुस