प्रदेश राजधानीको निर्णय गर्न प्रधानमन्त्रीलाई बलायरको आग्रह

धनगढीः कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य वीरबहादुर बलायरले सुदूरपश्चिमको राजधानीका बारेमा निर्णय गर्न प्रधानमन्त्री पुष्पकमल दहाललाई आग्रह गरेका छन्। सोमवार गौरीगंगा नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन समारोहमा बोल्दै बलायरले प्रधानमन्त्रीलाई प्रदेश राजधानीका बारेमा निर्णय गर्न आग्रह गरेका हुन्।
बलायरले अघिल्लो प्रदेश सभाले घोषणा गरेको राजधानी अहिलेसम्म कार्यान्वयन हुन नसकेको भन्दै निर्णय लिन आग्रह गरेका हुन्। यसअघिको प्रदेश सभाले गोदावरी नगरपालिका वडा नम्बर २ र ४ मा प्रदेशको स्थायी राजधानी बनाउने घोषणा गरेको थियो। तर अहिलेसम्म राजधानी कार्यान्वनमा भने आउन सकेको छैन्।
प्रतिनिधि सभा सदस्य बलायरले गोदावरी नगरपालिकाको कार्यकारी परिषदले त्यहाँको सामुदायिक वनले वनरहित ८० विगाको भोगाधिकारको लागि दिएको पत्र प्रधानमन्त्री कार्यालयमा बुझाएको समेत बताएका छन्। तर प्रधानमन्त्रीले भने प्रदेश राजधानीको विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्। समाजवादी मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाल सोमवार कैलाली आइपुगेका हुन्।
