सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा नेकपाका तीन सचिवले सपथ किन बहिष्कार गरे ?

२०७६ वैशाख १६, १२:३१ जनक विष्ट

नेपाल कम्युनिस्ट पार्टी  नेकपाले गत बैशाख ९ गते ७७ वटै जिल्लाको अध्यक्ष र सचिवको टुङ्गो लगाएको थियो। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबिच पार्टी एकिकरण भएको लामो समयपछि नेकपाले जिल्लाका पदाधिकारीको टुङ्गो लगाएको हो। सुदूरपश्चिमका नौ वटा जिल्ला मध्ये पाँच जिल्लामा तत्कालीन एमालेले अध्यक्ष र चार जिल्लामा सचिव तथा तत्कालीन माओवादी केन्द्रले चार जिल्लामा अध्यक्ष पाउँदा पाँच जिल्लामा सचिव पाएको थियो।

अध्यक्ष र सचिवको जिम्मेवारी पाउनेहरु विगतमा तत्कालीन पार्टीको जिल्ला नेतृत्व पाईसकेका नेता  छन्।  तत्कालिन एमालेबाट जिल्ला अध्यक्ष भए माओवादीबाट सचिव बनाइएको छ भने माओवादीबाट जिल्ला अध्यक्ष भए एमालेबाट सचिव बनाईएको छ। कैलालीमा तत्कालीन एमालेका अध्यक्ष कारवाहीमा परेका कारण उपाध्यक्षले जिम्मेवारी पाएका छन्।

तर पार्टीको निर्णयप्रती असन्तुष्टि जनाउदै आईतबार धनगढीमा आयोजना गरिएको सपथ ग्रहण कार्यक्रममा तीन जना सचिव अनुपस्थित रहे। डडेल्धुराका सचिव तारादत्त जोशी, दार्चुलाका रामदत्त जोशी र बझाङका दिलबहादुर सिंहले सपथ बहिष्कार गरेका हुन्। तत्कालीन एमालेबाट जिल्ला सचिवको जिम्मेवारी पाएका उनीहरुले पार्टीको निर्णयप्रती असन्तुष्टि जनाउँदै सपथ बहिष्कार गरेका हुन्।

डडेल्धुरामा सचिवको जिम्मेवारी पाएका तारादत्त जोशीले जिल्ला सचिवको पद नै स्वीकार नगर्ने बताउँदै आएका छन्। धनगढीमै रहेका जोशीले तत्कालीन एमालेको अध्यक्ष भएर १० वर्ष सम्म जिल्लाको नेतृत्व गरिसकेका कारण अव जिल्ला सचिव भएर बस्नु उचित नभएको बताए। उनले पार्टी एकतामा स्पष्टता नभएका कारण यस्तो स्थिती आएको उनले बताए।  

बझाङका सचिव सिंहले बझाङ जस्तो जिल्लामा तत्कालीन माओवादी केन्द्रको कुनै संगठन नै नभएकाले सो पार्टीबाट प्रतिनिधित्व गर्ने नेतालाई अध्यक्षको जिम्मेवारी न्यायोचित  नभएको मत व्यक्त गरे। उनले पार्टीले अमर्यादित ढंगले मुल्याङ्कन गरेका कारण सपथ ग्रहण नगरेको सिंहले बताए। सिंहले ६ वर्ष सम्म तत्कालीन एमालेको अध्यक्ष भएर काम गरिसकेका छन्। दार्चुलाको सचिवको जिम्मेवारी पाएका रामदत्त जोशीले पनि पार्टीको निर्णयप्रती असन्तुष्टि जनाउदै सपथ बहिष्कार गरेका छन्।

जोशीले पनि तत्कालीन एमालेको जिल्ला अध्यक्ष भएर पाँच वर्ष काम गरिसकेका छन्। तत्कालिन एमालेको जिल्ला अध्यक्ष भएर पनि एकीकृत पार्टीको जिल्ला सचिव पद स्वीकार गर्नेमा कंचनपुरका तारालामा तामाङ मात्रै परेका छन्। नेकपा सुदूरपश्चिमका प्रमुख सचेतक समेत रहेका तामाङले आईतबार सचिवको सपथ लिएका छन्। तामाङले  पार्टीले बनाएको मापदण्ड स्वीकार गरेको प्रतिक्रिया दिए। अहिले सचिवको जिम्मेवारी पाएकाहरुले यसअघि नै नेकपाको प्रदेश कमिटिको सपथ ग्रहण गरिसकेका छन्। तीन जना जिल्ला सचिवले सपथ ग्रहण बहिष्कार गरेपछि त्यसको कारणको खोजी भइरहेको नेकपा सुदूरपश्चिम प्रदेश कार्यालयका सचिव दिनेशचन्द्र सुवेदीले बताए। 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस