सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृष्णपुरका नगर प्रमुख ओझाले इजरायलबाट फर्किएका विद्यार्थीलाई घरसम्मै पुर्‍याए

फोटो : कमल सावद
फोटो : कमल सावद
२०८० असोज २८, ०७:२२ कमल सावद

धनगढी : कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले इजरायलबाट फर्किएका विद्यार्थीलाई घरसम्मै पुर्‍याएका छन। गत शनिवार इजरायलमा हमास विद्रोही समूहले गरेको साङ्घातिक आक्रमणबाट बच्न सफल चार विद्यार्थीलाई नगर प्रमुख ओझाले घरसम्म पुर्‍याएका हुन्। 

बिहिवार नेपाल एयरलाइन्स मार्फत काठमाडौँ पुगेका २५३ विद्यार्थीहरूसँगै आएका उनीहरू शनिवार घर पुगेका छन। कृष्णपुर नगरपालिका वडा नम्बर २ का नरेश सिंह भण्डारी (निथिन), प्रकाश भारती  र वडा नम्बर ४ का रमेश कार्की तथा पदम धामीलाई नगरप्रमुख ओझाले आफूसँगै श्री एयरलाइन्सको विमान मार्फत शनिवार धनगढी ल्याएका थिए। धनगढीबाट नगर प्रमुख ओझाले नगरको गाडीमा घर–घरसम्म लगेका हुन्। 

बिहिवार बिहान नगरप्रमुख ओझाले चारै जना विद्यार्थीहरूलाई त्रिभुवन विमानस्थल स्वागत गर्दै उतैबाट आफ्नो निवासमा लगेका थिए। शुक्रवार दिनभरि आफूसँगै विद्यार्थी राखेका ओझाले शनिवार बेलुकी धनगढी विमानस्थल पुगेका विद्यार्थीहरूलाई नगरपालिकाकै गाडीमा सबैलाई घरसम्मै पु¥याएका छन्। 

धनगढीमा विमानस्थलमा पत्रकारहरूसँग प्रतिक्रिया दिँदै नगरप्रमुख ओझाले इजरायलमा हमास विद्रोही समूहको आक्रमणमा परी १० विद्यार्थीले ज्यान गुमाएको र दर्जनौँ घाइते भएको खबर सुन्दा आफू विक्षिप्त भएको बताए। उनले कृष्णपुरका पनि चार जना ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका खबर सुनेदेखि आफू नियमित उनीहरूसँग सम्पर्कमा रहेको बताए। उनले भने, ‘भिडिओ कलमा जोडिनै रहेको थिए, चिन्ता नमान्न र आत्मबल बढाउन भनेर बारम्बार भनिरहेको थिए। प्रराष्ट मन्त्रालयसँग पनि सम्पर्कमा थिए। मन्त्री ज्यू हाम्रो क्षेत्रको हुुनुहुन्छ। नभन्दै बिहिवार नेपाल एयरलाइन्स मार्फत त्रिभुवन विमानस्थल आफ्नो नगरपालिकाका विद्यार्थीहरू देख्दा भावुक भए।’ उनले नेपाल सरकार र विशेष गरी परराष्ट्र मन्त्री एनपि साउँदको सक्रियताले उद्धार गर्न सम्भव भएको बताए। नगरप्रमुख ओझाले इजरायलबाट सकुशल फर्केका आएका आफ्ना नागरिकलाई नगरपालिकाले के गर्न सक्छ भन्ने बारे विज्ञसँग छलफल गर्ने र उनीहरूको आत्मबल बढाउन केही न केही पहल गर्ने बताए।

मृत्युको मुखैबाट बाँच्न सफल भएर धनगढी विमानस्थलमा पुगेका कृष्णपुर नगरपालिका वडा न २ का नरेश सिंह भण्डारी (निथिन), प्रकाश भारती  र वडा नं ४ का रमेश कार्की तथा पदम धामी बिछट्टै खुसी थिए। विमानस्थलमा पत्रकारहरूसँग नरेश सिंह भण्डारीले भने, ‘बाँच्ने आशा मारी सकेका थियौँ। खै कसरी जोगियौँ र आज घरसम्म पुग्यौँ। यो सपना जस्तै लागिरहेको छ।’ प्रकाश, रमेश र पदमको पनि एउटै भनाइ थियो हामीले आफ्नै देशको भूमि टेक्नु रैछ यो दोस्रो जुनी हो अब यतै केही गर्छौँ। राज्यले हामीलाई केही न केही सहयोग गरे हामी यतै नमुनाको काम गरेर देखाउँछौँ।

उनीहरूले आफ्नो ज्यान दाउमा राखेर धेरैलाई बचाएका आफ्नो साथी विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात रहँदा भने अत्यन्तै दुःख लागेको भन्दै सरकारलाई विपिनको खोजी कार्य अगाडि बढाइदिन र मृतकहरूको लास नेपाल छिटोभन्दा छिटो ल्याउने वातावरण मिलाइदिन आग्रह गरे।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस