धनगढीमा स्वास्थ्य क्षेत्रको तीन दिने प्रदेश स्तरीय वार्षिक समीक्षा सुरू
धनगढीः स्वास्थ्य निर्देशनालय दीपायलको आयोजनामा धनगढीमा तीन दिने प्रदेश स्तरीय वार्षिक समीक्षा कार्यक्रम सुरू भएको छ। बिहीबार कार्यक्रमको प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका हुन्। कार्यक्रममा प्रमुख अतिथि रहेका जोशीले समस्या र चुनौती मात्र नभनी बजेट कार्यान्वयन र सदुपयोग गरेर स्वास्थ्य क्षेत्रमा सुधार आउने बताएका छन्।
‘आवश्यकता र चुनौतीलाई गम्भीरता पूर्वक लिएर भएका स्रोत साधनको सदुपयोग गर्दै बजेट कार्यान्वयन गरेमा स्वास्थ्य क्षेत्रका सबै सूचकाङ्कमा सुधार हुन्छ,“ उनले भने, ‘मन्त्रीदेखि स्वास्थ्य चौकीका कार्यालय सहयोगीसम्मका सबैले दत्तचित्त भएर लागेमा स्वास्थ्य क्षेत्रमा अवश्य सुधार हुन्छ।’ उनले जिम्मेवारीबाट पन्छिने समस्याका कारण सर्वसाधारणले सहज स्वास्थ्य सेवा नपाएको गुनासो गर्दै आएको बताए।
प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्वास्थ्य संस्थाहरुले बजेट अपुग रहेको भन्ने गुनासो तर्क र तथ्यपूर्ण नभएको बताएका छन्। उनले स्रोत साधनको सदुपयोग गरेर स्वास्थ्यमा सुधार ल्याउनुपर्ने बताए। “अपुग बजेट प्रदेश सरकारले दिन्छ। त्यतिले भएन भने संघीय सरकारसँग पनि अनुरोध गर्न सकिन्छ। तर, बजेट नहुँदा समस्या भो भन्न मिल्दैन।’ मुख्यमन्त्री शाहले प्रदेश सरकारसँग ठुलो बजेट नभएकाले सबै स्वास्थ्य संस्थालाई सुविधा सम्पन्न बनाउन नसके पनि सबैको न्यूनतम आवश्यकतालाई पहिचान गरेर काम गरिरहेको दाबी गरे।
प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले स्वास्थ्यकर्मीको सुरक्षाको प्रदेश सरकारले गर्ने बताएका छन्। उनले स्वास्थ्यकर्मीलाई सुरक्षा र प्रोत्साहन गरिने बताए। उनले ३२ वर्ष पहिलेको जनशक्तिले प्रदेशमा काम गर्न गाह्रो भइरहेको बताउँदै जनशक्ति व्यवस्थापन गरिने बताए। “अब पुरानो अवस्थाको जनशक्ति रहदैन। अहिलेको आवश्यकता अनुसार कर्मचारीको व्यवस्थापन गरिनेछ,“ मन्त्री साउँदले भने। बिहीबार सुरू भएको प्रदेश स्तरीय समीक्षा शनिबारसम्म चल्नेछ। तीन दिनसम्म प्रदेशका सबै जिल्ला र स्वास्थ्य संस्थाले हासिल गरेका उपलब्धि र सामना गर्नुपरेका चुनौतीको विषयमा छलफल हुनेछ।