सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा यो वर्ष दसैं र तिहारमा फूलको अभाव नहुने

२०८० असोज २५, ०६:३९ नारायण अवस्थी

धनगढी: धनगढीमा यो वर्ष दसैं र तिहारमा फूलको अभाव नहुने भएको छ। धनगढीका दुई दर्जन बढी किसान फूल खेतीमा लागेपछि फूल आयात गर्नुपर्ने बाध्यता हट्ने भएको हो।

यो वर्ष स्थानीय किसानको उत्पादनले धनगढीमा सयपत्री फूलको अभाव हट्ने भएको हो। फूल उत्पादनमा धनगढीलाई आत्मनिर्भर बनाउने योजना उपमहानगरको छ। उपमहानगरको योजना अनुसार दुई दर्जन बढी किसानले फूल खेती सुरु गरेका छन्। उत्पादित फूलको बजारीकरण गर्न उपमहानगरले सहयोग गर्ने भएपछि किसानहरूले अर्को वर्षबाट दोब्बर क्षेत्रफलमा पुष्पखेती गर्ने भएका छन्। अर्को वर्षबाट दुई बिघा जग्गामा फूलखेती गर्ने धनगढी-१२ जुगेडाका प्रतापसिंह बिष्टले बताए। "यो वर्ष दुई कट्ठामा मात्रै फूल खेती गरेको छु। यो बजारको माग र उत्पादन हेरेर अर्को वर्ष क्षेत्रफल बढाउने योजना छ। अर्को वर्ष सिधै दुई बिघामा फूल खेती गर्छु," बिष्टले दिनेशखबरसँग भने।

धनगढी-६ मटियारीमा सुशीला बिष्ट र शंकरसिंह बिष्टले यो वर्ष डेढ बिघा जग्गामा पुष्पखेती गरेका छन्। धनगढी उपमहानगरपालिकाले पुष्पखेती सम्बन्धी तालिम लिएका बिष्ट दम्पतीले डेढ बिघा जग्गामा मखमली र सयपत्री फूल रोपेका छन्। यो वर्ष दश टन फूल उत्पादन गर्ने लक्ष्य राखेका बिष्ट दम्पती बजारीकरणमा उपमहानगरपालिकाले सहयोग गर्ने भएपछि थप उत्साहित छन्। "धनगढी उपमहानगरपालिकाले पुष्पखेती सम्बन्धी तालिम दिएको छ भने अहिले सजावट सम्बन्धी ६ दिने तालिम भइरहेको छ। उपमहानगरले उत्पादित फूलको बजारीकरणमा समेत सहयोग गर्ने भएपछि हामीलाई सहज भएको छ,"बिष्टले भने।

धनगढी उपमहानगरपालिकाले गएको जेठमा २६ जना किसानलाई पुष्पखेती सम्बन्धी एक हप्ते तालिम दिएको थियो। तालिम लिएका सबैले दुई कट्ठादेखि डेढ बिघा जग्गामा पुष्पखेती सुरु गरेका छन्। घनगढी-१२ जुगेडा "डी" गाउँकी आशा पन्त मिश्र गत वर्षबाट फूल खेती गर्न थालेकी हुन्। गत वर्ष २० हजारको मखमली र ६० हजारको सयपत्री फूल बिक्री गरेकी मिश्रले यो वर्ष डेढ कट्ठामा कलकत्ते, स्थानीय र कर्मा ५५५ जातको सयपत्री फूल लगाएकी छन्। यस्तै, धनगढी-१२ "सी" गाउँ कि कृतिका चन्दले पाँच कट्ठामा दुई हजार बिरुवा हुर्काएकी छिन्। चन्दको यो वर्ष ८ टन फूल उत्पादन गर्ने लक्ष्य छ।

यसैगरी, धनगढी-१३ अम्बिका टोलका पुष्करसिंह बिष्टले ११ कट्टा जग्गामा पुष्पखेती गरेका छन्। ६ हजार बिरुवाबाट ६ टन फूल उत्पादन गर्ने लक्ष्य बिष्टको छ। उपमहानगरले गत जेठमा दिएको पुष्पखेती सम्बन्धी तालिम र अहिले उत्पादित फूलको बजारीकरण गर्न सहयोग गर्ने बताएपछि अरू किसान जस्तै पुष्कर पनि उत्पादन भएको फूल बिक्री हुनेमा ढुक्क छन्। धनगढी उपमहानगरपालिकाले भारतबाट आयात हुने प्लास्टिकजन्य फूल र फूलका माला बिक्री वितरणमा गत वर्षबाटै रोक लगाएको छ।

यो वर्ष पनि प्लास्टिकजन्य फूल र माला आयात, भण्डारण र बिक्री वितरण नगर्न उपमहानगरले सार्वजनिक अपिल गरेको छ। फूल उत्पादनमा धनगढीलाई आत्मनिर्भर बनाएर निर्यातसमेत गर्ने योजना धनगढी उपमहानगरपालिकाको छ। नगर प्रमुख गोपाल हमालले किसानले उत्पादन गरेको फूल बिक्री हुन नसके उपमहानगरले किनेर बजार खोज्न सहयोग गर्ने बताएका छन्। जसका कारण आगामी वर्षबाट धनगढीमा पुष्पखेतीको क्षेत्रफल र उत्पादन बढ्ने देखिन्छ।

उपमहानगरले गत जेठ २२ देखि २८ गतेसम्म २६ जना पुष्पखेती गर्न इच्छुक किसानलाई पुष्पखेती सम्बन्धी तालिम दिएको थियो भने अहिले फूल तथा मालाबाट सजावट सम्बन्धी तालिम दिइरहेको छ। जसका कारण उत्पादित फूल किसानले थप मूल्यमा माला बनाएर तथा सजावट गरेर कमाउन सक्ने क्षमता आर्जन गर्ने छन्। दसैँ, तिहार तथा विभिन्न धार्मिक र सांस्कृतिक उत्सवमा प्राकृतिक फूलको मागलाई मध्यनजर गरेर धनगढी उपमहानगरले पुष्पखेती प्रवर्धन गर्ने नीति लिएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस