झापामा एमाले नेता महेश बस्नेतको गाडीमा ढुंगामुढा प्रहार
झापाः झापामा पहिचानवादीहरूले महेश बस्नेतको गाडीसहित एक दर्जनभन्दा बढी गाडीमा तोडफोड गरेका छन्। राष्ट्रिय युवा संघ अर्जुनधारा नगर कमिटीको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्न बिहीवार झापा पुगेका नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतलाई अवरोध गर्न कार्यक्रम स्थल पुगेका पहिचानवादीहरूले नेता तथा कार्यकर्ता चढ्ने सवारीसाधनमाथि तोडफोड गरेका हुन्।
बाक्लो सुरक्षा घेरामा कार्यक्रम स्थलभित्र पूर्व मन्त्रीसमेत रहेका युवा नेता बस्नेत भाषण गरिरहेका बेला सडकमा छरिएर रहेका पहिचानवादी र दुर्गा प्रसाईँ समर्थकहरूले ढुंगामुढा गरी सडक किनारमा पार्किङ गरी राखिएका एक दर्जन बढी सवारीसाधनहरूको सिसाहरू फुटाएका छन्। युवा नेता बस्नेत सहभागी कार्यक्रम बिथोल्न पुगेका पहिचानवादी र दुर्गा प्रसाईँ समर्थकहरू सडकमा नाराबाजी गर्दै ढुंगामुढा गरेका थिए।
युवा संघका कार्यकर्ता र पहिचानवादी, दुर्गा प्रसाईँ समर्थकबीच हुनसक्ने झडपलाई मध्यनजर गरी ठूलो सङ्ख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको थियो। प्रहरीकै घेराबन्दीमा युवा नेता बस्नेत कार्यक्रम स्थल पुग्दा उनीहरूले कालोझण्डा देखाउँदै चर्को नाराबाजीसमेत गरेका थिए।