सुदूर नेपाललाई विश्वसँग जोड्दै

फिफा विश्वकप छनोटमा नेपालले आज लाओससँग खेल्दै

२०८० असोज २५, ०६:१८ खबर संवाददाता

काठमाडौं: फिफा विश्वकप छनोटमा नेपालले आज लाओससँग खेल्दैछ। 

एसिया क्षेत्र छनोटअन्तर्गत पहिलो चरणको खेलमा नेपालले घरेलु मैदानमा लाओससँग खेल्न लागेको हो। खेल साँझ साढे ५ बजे दशरथ रंगशालामा हुनेछ। विश्वकप छनोटका लागि लाओसको टिम सोमबार नै नेपाल आइसकेको छ। 

आठ वर्षपछि घरेलु मैदानमा विश्वकप छनोट खेल्न लागेको हो। दशरथ रंगशालामा नेपालले पछिल्लो पटक सन् २०१५ मा भारतविरुद्ध विश्वकप छनोट खेलेको थियो। २०२२ को विश्वकप छनोट दोस्रो चरणअन्तर्गत घरेलु मैदानका खेल कोभिड–१९ कारण न्युट्रल भेन्युमा भए। परिचित प्रतिद्वन्द्वी लाओसविरुद्धको खेलका लागि विदेशमा खेलिरहेका रोहित चन्द, किरण चेम्जोङ र मनीष डाँगी पनि नेपाल आपुगेका छन्।

छनोटको तयारी स्वरुप नेपालले म्यान्मारसँग उसकै मैदानमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलो खेलमा अन्जन विष्ट पेनाल्टीमा चुक्दा नेपाल गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो खेलमा म्यान्मारसँग एक(शून्य गोलको हार बेहोर्यो।

लाओसविरुद्धको अवे खेल अर्को साता उसकै मैदानमा हुनेछ। लाओसमाथि जित हात पारे नेपाल समूह एचमा पुग्नेछ। सन् २०२६ मा अमेरिका, मेक्सिको र क्यानडामा हुने विश्वकपमा पहिलोपटक ४८ राष्ट्र सहभागी हुने छन्। एसियाबाट आठ देश छानिने छन्। 

कमेन्ट लोड गर्नुस