सुदूर नेपाललाई विश्वसँग जोड्दै

मनमुटाव छाडेर एकढिक्का बनौं : प्रकाशमान

। फोटो स्रोत ।
२०७६ वैशाख १५, ०४:५६ खबर संवाददाता

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मनमुटाव छाडेर एकढिक्का हुन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। भेदभावपूर्ण व्यवहारले नेता(कार्यकर्तामा ऊर्जा भर्न नसकिएको स्वीकार गर्दै उनले अब पार्टीमा आन्तरिक एकता सुदृढ गरेर अगाडि बढ्नुको विकल्प नभएको बताए। 

संखुवासभा क्षेत्रनम्बर २ ले आइतबार सदरमुकाम चैनपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै नेता सिंहले संगठन मजबुत बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिए।कांग्रेसले जनता र मुलुकको हितमा महत्वपूर्ण काम गर्दागर्दै पनि जनताले विश्वास गर्न नसक्नु कांग्रेस नेतृत्वप्रतिको अविश्वास हो भन्दै उनले यसलाई सुधार्दै अगाडि बढ्नुपर्नेमा जोड दिए। पार्टीलाई विधिसम्मत तवरले चलाउनुपर्ने उनको जोड छ।

कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले भने, ‘जनता कांग्रेसको पक्षमा छन, जनता कांग्रेस राम्रो होस् भन्ने चाहन्छन, तर कांग्रेस विधिविधान सम्वत तवरले चल्न सकेन। अब पार्टीभित्र आन्तरिक सुदृढीकरण गरेर अगाडि बढ्नुको विकल्प छैन।’ वर्तमान सरकार स्वेच्छाचारी तवरले चलेकाले सडकदेखि सदनसम्म कांग्रेस सशक्त रुपमा प्रस्तुत हुनुपर्ने उनले बताए। पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले लोकतन्त्रको बचाउ र समृद्धिको यात्रा कांग्रेसले मात्र पूरा गर्न सक्ने बताए।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीले अब पनि कांग्रेसले आफूलाई सुधार गर्न नसके कांग्रेस अहिले भन्दा पनि झन् कमजोर हुने बताए। उनले सबै मिलेर पार्टी सुधारको अभियानमा लाग्नु पर्नेमा जोड दिए। कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईं लगायतले धारणा राखेका थिए।

नेता सिंह सहितको टोलीले आज संखुवासभा जिल्लामा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। प्रकाशमानको टोलीमा आधा दर्जन पूर्वमन्त्री र आधा दर्जन जिल्ला सभापतिसमेत छन्। वैशाख १३ गतेदेखि पूर्वी नेपालको बिभिन्न जिल्ला दौडाहामा रहेका प्रकाशमान १७ गते काठमाडौं फर्कने कार्यक्रम छ।
 

कमेन्ट लोड गर्नुस