सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अन्तर्राष्ट्रिय बालिका दिवस मनाइयो

२०८० असोज २४, ०४:२८ खबर संवाददाता

धनगढी: "बालिकाको आवाज बुलन्द गराऔँ" भन्ने नाराका साथ धनगढीमा अन्तर्राष्ट्रिय बालिका दिवस मनाइएको छ। बुधबार प्याराडाइज नेपालको आयोजनामा धनगढी-७ मनेहराको सरस्वती माध्यमिक विद्यालयमा बालिका दिवस मनाइएको हो।

प्याराडाइज नेपालका अध्यक्ष मिनबहादुर शाहीले आफ्नो संस्थाले सामाजिक र लैङ्गकि समस्या समाधान गर्न बालिकाहरूको आवाज बुलन्द गर्ने, समस्यामा परेका बालिकाहरूलाई सहयोग गर्ने र बालबालिकाको शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको बताए।

बालबालिका, अभिभावक र शिक्षकलाई तालिम दिनुको साथै बालबालिकाहरूमा रहेको प्रतिभाको प्रस्फुटन गराउन संस्थाले विभिन्न कार्यक्रम गर्दै आएको शाहीले बताए। बुधबार आयोजित कार्यक्रममा सरस्वती माध्यमिक विद्यालयसहित धनगढीको डिस्कभरी स्कुल, डिलाइट स्कुल, जुगेडाको सिद्धनाथ माध्यमिक विद्यालय, जाखैर तालको शिव माध्यमिक विद्यालय र बेलीको राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागिता थियो। कार्यक्रममा लागुऔषध दुर्व्यसन, महिनाबारी, छिटो विवाह गर्दाका समस्याका बारेमा विद्यार्थीहरूले गीत, नृत्य र नाटक प्रस्तुत गरेका थिए। महिनाबारी तथा बालविवाहले स्वास्थ्यमा पार्ने असर बारे स्वास्थ्य निर्देशनालयका हेमराज जोशीले आवश्यक जानकारी दिएका थिए भने जिल्ला प्रहरी कार्यालय कैलालीका बालबालिका तथा जेष्ठ नागरिक सेलका प्रमुख प्रहरी निरीक्षक सरस्वती अधिकारीले लागुऔषध दुर्व्यसनको असर र बच्ने उपाय र कानुनी प्रावधान बारे विद्यार्थीलाई जानकारी दिएका थिए।

सरस्वती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चनकलाल चौधरको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि वडा नम्बर ७ का वडा अध्यक्ष मोति राना रहेका थिए। कार्यक्रममा शिक्षक, महिला स्वास्थ्य स्वयं सेविका र धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका गीता रिजालको सहभागिता रहेको थियो। विभिन्न विद्यालयबाट आएका विद्यार्थीहरूले गीत, नृत्य, नाटक र व्यक्तित्व कला माध्यमबाट बालिकाहरूको व्यक्तित्व विकास, शिक्षा र सामाजिक विकासका लागि सबै पक्षले सहयोगी र भेदभावरहित भूमिका खेल्नुपर्ने विचार व्यक्त गरेका थिए।

कमेन्ट लोड गर्नुस