सुदूर नेपाललाई विश्वसँग जोड्दै

परराष्ट्रमन्त्री साउँद र इजरायलका मन्त्री एलीबीच टेलिफोन वार्ता

२०८० असोज २३, ०९:३८ खबर संवाददाता

काठमाडौंः परराष्ट्रमन्त्री नारायण प्रकाश साउद र इजरायलका विदेश मामिला मन्त्री एली कोहेनबीच आज सम्पर्क टेलिफोन वार्ता भएको छ। 

हमासले गरेको आक्रमणपछि त्यहाँ ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। सोही घटनामा १० नेपालीको निधन भएको छ। वार्तामा त्यहाँ रहेका नेपालीको उद्धार र निधन भएका नेपालीको शव नेपाल ल्याउने विषयमा पनि कुराकानी भएको हो।
नेपालीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र स्वदेश फर्कन चाहने नेपालीहरुलाई सहजीकरण गर्ने विषयमा मन्त्री साउँदले कुरा गरेका हुन्। ईजरायली सरकारका परराष्ट्रमन्त्रीले पूर्ण सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन्। 
परराष्ट्र मन्त्रालयले यस कठिन समयमा नेपालको इजरायलसँग ऐक्यबद्धता रहेको जनाएको छ। 

यसअघि परराष्ट्रमन्त्री साउदले आजै प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा इजरायलमा निधन भएका नेपालीको शव यथाशीघ्र स्वदेश ल्याउन, घाइतेहरुको उपचार गर्न, सम्पर्कविहीन भएकाको तत्काल खोजी गर्न गरिएको प्रयासबारेमा जानकारी दिएका थिए। 

ईजरायलमा निधन भएका १० जना नेपालीहरुको शव नेपाल ल्याउनका लागि इजरायल सरकारका विधिविज्ञान निकायसँग समन्वय भई सकेसम्म चाँडो ल्याउने गरी कार्यप्रक्रिया शुरु भइसकेको छ।

ईजरायल र गाजाको सीमा क्षेत्रमा बंकरभित्र आश्रय लिई बसेका सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना र कृषि तथा वन विज्ञान विश्वविद्यालयका २३ जना गरी ५५ जना विद्यार्थीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण भइसकेको छ। ईजरायलको उत्तरी सिमानामा अध्ययनरत विद्यार्थीहरुलाई समेत सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। सम्पर्कविहीन अवस्थामा रहेका बिपिन जोशीको खोजीकार्य तीव्र रुपमा भइरहेको छ।

उद्दार हुन तथा नेपाल फर्कन चाहने ३२४ जना नेपाली नागरिकहरुले राजदूतावासको अनलाइन रजिष्ट्रेशन प्रणालीमार्फत विवरण उपलब्ध गराएका छन्। 

विवरण दिनेमध्ये २८८ जनाले नेपाल फर्कन र ३६ जनाले स्थानान्तरण हुन चाहेको बताएका छन्।


 

कमेन्ट लोड गर्नुस