सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले सुदूरपश्चिमको नेतृत्व चयनमा रस्साकक्सी, निर्वाचनको प्रक्रिया सुरू

२०८० असोज २३, १०:३५ खबर संवाददाता

धनगढीः नेकपा एमाले सुदूरपश्चिम प्रदेशको नयाँ नेतृत्व चयनमा रस्साकम्सी देखिएको छ। एमाले सुदूरपश्चिम अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रारम्भिक प्रयास विफल भएपछि मंगलबार बिहानदेखि निर्वाचन प्रक्रिया सुरू गरिएको हो।

मंगलबार बिहान उम्मेदवारी दर्ताको समय तालिका निर्धारण गरिएको छ। मंगलबार अपराह्न ५ बजेदेखि मतदानको सुरु हुने तालिका निर्धारण गरिएको छ। ‘अहिले मनोनयन हुँदैछ, त्यसपछि सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिनेछ, त्यो हुन सकेन भने निर्वाचनको प्रक्रिया सुरु हुनेछ’, नेकपा एमाले सुदूरपश्चिम प्रदेशका निवर्तमान सचिव धर्मराज पाठकले भने।

उनले सकेसम्म सर्वसम्मतबाटै आगामी नेतृत्व चयन गर्ने प्रयास गरिने बताए। भएन भने निर्वाचनको प्रक्रिया अघि बढ्ने उनको भनाई छ। आइतबारदेखि सोमबारसम्म महासचिव शंकर पोखरेलले अध्यक्ष पदका आकांक्षी उम्मेदवार र सुदूरपश्चिम प्रदेशबाट नेतृत्व गर्ने अगुवा नेता कार्यकर्ताहरुलाई सहमतिको प्रयास गरेका थिए।

तर अध्यक्ष पदका उम्मेदवार कमल तिमिल्सिना र कृष्णप्रसाद जैसीबीच समझदारी नभएपछि निर्वाचन प्रक्रिया सुरु गरिएको हो। उद्घघाटनलगत्तै फर्किएका अध्यक्ष केपी शर्मा ओलीले महासचिव पोखरेललाई सहमति गराउने जिम्मेवारी दिएका थिए। पोखरेलसमेत सोमबार दिउँसो नै फर्किसकेका छन्। अधिवेशनले पाँच जना पदाधिकारीसहित १५५ जनाको प्रदेश कमिटि चयन गर्ने छ।

हालसम्म तीन जनाले अध्यक्षको पदमा आफ्नो दाबी सार्वजनिक गरेका छन्। कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना र बचनबहादुर सिंहले अध्यक्ष पदमा दाबी सार्वजनिक गरेका छन्। यसबीचमा कार्यकर्ताहरु तिमिल्सिना र जैसीका लागि अलगअलग कित्तामा नेता कार्यकर्ताहरु बाँडिएका छन्।

निवर्तमान प्रदेश अध्यक्ष दामोदर भण्डारी, केन्द्रिय सचिव लेखराज भट्ट समर्थित प्रतिनिधि एकातिर र कर्णबहादुर थापा समूह अर्कोतिर विभाजित देखिएका छन्। भण्डारी र भट्टको साथ तिमिल्सिनालाई रहेको देखिएको छ भने थापा पक्षधर नेता कार्यकर्ताहरुको साथ जैसीलाई रहेको एमाले कार्यकर्ताहरु बताउँछन्।

केन्द्रीय पदाधिकारीहरुको कसको कसलाई समर्थन छ भन्न स्पष्ट संकेत भने प्रष्ट भइसकेको छैन। नेकपा एमालेका कैलाली पार्टी जिल्ला कमिटी सदस्य आनन्द भट्टका अनुसार राजनीति दस्तावेज र आर्थिक दस्तावेज हिजो नै पास हुनुका साथै कमिटीको खाँका कस्तो बनाउने भन्ने विषयमा पनि हलबाट पास भएको छ। उनका अनुसार नीति चयनको काम सकिएर अब नेतृत्व चयनको काम बाँकी छ।

No description available.

कमेन्ट लोड गर्नुस