सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमबाट लागुऔषधसहित ८५६ जना पक्राउ, विद्यार्थीलाई पढाउँदै प्रहरी

२०८० असोज २२, ०६:४३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा लागुऔषधको प्रयोग बढ्न थालेको छ। त्यसलाई रोक्न प्रहरीले विद्यालयमै पुगेर विद्यार्थीलाई लागुऔषधविरुद्ध कक्षा दिने अभियान थालेको छ।

प्रहरीले विद्यालयमै गएर १० देखि १२ कक्षासम्म अध्ययनरत विद्यार्थीलाई लागुऔषधविरुद्ध प्रशिक्षण दिन थालेको हो। धनगढीमा मात्र अहिलेसम्म एक दर्जन विद्यालयका करिब पाँच हजार विद्यार्थीलाई लागुऔषधविरुद्धको प्रशिक्षण दिइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

प्रशिक्षणमार्फत विद्यार्थीलाई लागुऔषधबारे सचेत गराउने कार्य प्रदेशका नौवटै जिल्लामा सुरु गरिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्याम चौधरीले बताए। नागरिकलाई सचेत गराएर लागुऔषधको प्रयोग र कारोबारलाई रोक्न प्रदेश प्रहरी कार्यालयले चालू आर्थिक वर्षदेखि समुदाय तथा सरोकारवालाको सहभागितामा लागुऔषधविरुद्धको महाअभियान नै सुरु गरिएको उनले बताए। अभियानअन्तर्गत विद्यालयमा प्रशिक्षण दिन थालिएको हो।

लागुऔषधविरुद्धको अभियानमा प्रदेशभरिका सबै प्रहरी युनिट परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयको दाबी छ। खुला सिमाना नै लागुऔषध नियन्त्रणको मुख्य चुनौती बनेको छ। त्यस्तै, बेरोजगारी र चेतनाको कमीका कारण पनि प्रयोगकर्ता बढेका छन्। सुदूरपश्चिममा लागुऔषधको प्रयोग भयावह रूपमा फैलिएको तथ्यांकहरूले देखाएका छन्।

तीन वर्षको अवधिमै लागुऔषधसम्बन्धी मुद्दामा पक्राउ पर्नेको संख्या करिब तीन गुणाले बढेको छ। प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७÷७८ मा प्रदेशभरि लागुऔषधसम्बन्धी दुई सय ५३ वटा मुद्दामा तीन सय ९४ जना पक्राउ परेका थिए। गत आर्थिक वर्षमा यससम्बन्धी पाँच सय ४० मुद्दा अदालतमा दर्ता भएका छन् भने ८ सय ५६ जना पक्राउ परेका छन्।

कमेन्ट लोड गर्नुस