सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा एमाले अधिवेशनः ‘सुदूरपश्चिमको भविष्य बनाउन सक्ने नेतृत्व आवश्यक’

२०८० असोज २१, ०४:२४ खबर संवाददाता

धनगढीः नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार नेपाली जनताप्रति संवेदनशील हुन नसकेको बताएका छन्।

आइतबार एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले इजरायलमा भएको हिंसात्मक घटनामा परी नेपाली विद्यार्थीहरू समस्यामा पर्दा समेत सरकारले ठोस पहल कदमी चाल्न नसकेको भन्दै उक्त घटनामा सरकार बेखवर जस्तै बनेको बताएका हुन्।

त्यस्तै नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले निर्वाचनमा मत बाँडिँदा मनहरू पनि बाँडिने गरेको बताए। सुदूरपश्चिम प्रदेशका पहिलो अधिवेशनको उद्घाटन सत्रमा उनले सुदूरपश्चिम प्रदेशमा सहज ढंगले सहमति हुने सम्भावना रहेको बताए। थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यक्तित्व निर्माण गर्न सुदूरपश्चिमले धेरै महत्वपूर्ण भूमिका खेलेको समेत दाबी गरे। 

एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्माले एमाले कमजोर हुँदा राष्ट्रियता र भौगोलिक एकता कमजोर हुने गरेको बताए। सुदूरपश्चिम प्रदेशको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। राष्ट्रियता र भौगोलिक एकता बलियो बनाउन एमालेलाई बलियो बनाउनु पर्नेमा उनले जोड दिए।

उनले सुदूरपश्चिम प्रदेशमा सीमा अतिक्रमणको समस्या रहेको बताए। एमालेका सचिव तथा कर्णाली प्रदेशका इन्चार्ज लेखराज भट्टले पार्टी नेता कार्यकर्ताहरूलाई चिल प्रवृत्ति अपनाउनु पर्ने बताएका छन्। उनले माथिल्लो तहबाट नियाल्ने गरी चिल प्रवृत्ति अपनाउन नेता कार्यकर्ताहरूलाई सुझाव दिएका हुन्।

छलफलबाट सुदूरपश्चिमको भविष्य र पार्टीलाई एकताबद्ध बनाउन सक्ने नेतृत्व आवश्यक रहेको भट्टले बताए। नेतृत्वसँग छलफल गरेर सर्वसम्मत र सही नेतृत्व चयन गर्नु पर्नमा उनले जोड दिए। सुदूरपश्चिम प्रदेशमा आजबाट प्रदेश अधिवेशन सुरु भएको छ। अहिले उद्घाटन सत्र चलिरहेको छ।

कमेन्ट लोड गर्नुस