सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमालेको प्रदेश अधिवेशनः ६७५ प्रतिनिधि धनगढीमा, अध्यक्ष ओली आउँदै

२०८० असोज २१, १०:२५ खबर संवाददाता

धनगढीः आज (आइतबार) एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन केहि समयपछि सुरु हुँदैछ।

अधिवेशनमा प्रदेश कमिटिको नेतृत्व चयनका लागि नौवटै जिल्लाबाट गरी ६ सय ७५ जना प्रतिनिधि छनोट भएर धनगढी आइपुगेका छन्। एमालेले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत अधिवेशनका लागि सबैभन्दा धेरै प्रतिनिधि बाजुराबाट रहेको जनाएको छ।

दुईवटा प्रदेश निर्वाचन क्षेत्रमात्र रहेको बाजुराबाट एक सय २८ जना प्रतिनिधि चयन भएका आएका छन्। १३ वटा स्थानीय तह रहेको कैलालीबाट बाजुराभन्दा कम १ सय १७ जना प्रतिनिधिमात्र छन्। त्यस्तै कञ्चनपुरबाट ६३, बैतडीबाट ६८, दार्चुलाबाट ५३, अछामबाट ५४, बझाङबाट ४८, डोटीबाट ४१ र डडेलधुराबाट १८ जना प्रतिनिधि रहेका अधिवेशन आयोजक कमिटिले जनाएको छ।

त्यस्तै ७५ जना प्रतिनिधि एमालेले जनसंगठनबाट चयन गरेको छ। कूल प्रतिनिधि संख्यामा एक सय ७८ जना महिला रहेका छन्। अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्ने प्रदेश अध्यक्ष दामोदर भण्डारीले बताए। उनको भव्य स्वागत गर्ने आयोजकको तयारी छ। नेकपा एमाले सुदूरपश्चिम प्रदेशको आगामी नेतृत्वका लागि अहिलेसम्म तीन जनाले अध्यक्षको पदमा आफ्नो दाबी सार्वजनिक गरेका छन्।

कृष्णप्रसाद जैशी, कमल तिमिल्सिना र वचनबहादुर सिंहले अध्यक्ष पदमा दाबी गरेका हुन्। जैसी र तिमिल्सिना अछामका हुन् भने सिंह कञ्चनपुरका हुन्। नेतृत्व चयनका लागि अगुवा नेताहरुको छातामा समूहगत प्रतिस्पर्धा हुने देखिएको छ। वर्तमान अध्यक्ष दामोदर भण्डारी, केन्द्रीय सचिव लेखराज भट्ट समूह एकातिर र कर्णबहादुर थापा समूह अर्कोतिर विभाजित देखिएका छन्।

भण्डारी र भट्टको साथ तिमिल्सिनालाई रहेको देखिएको छ भने थापा पक्षधर नेता कार्यकर्ताहरुको साथ जैसीलाई रहेको एमाले कार्यकर्ताहरु बताउँछन्। सुदूरपश्चिम इन्चार्जसमेत रहेका छविलाल विश्वकर्माले सकेसम्म सर्वसम्मत नेतृत्व चयनको प्रयास हुने बताए। तर प्रतिस्पर्धामा जानै निषेध हुने मान्यता पनि नरहेको उनले बताए।

कमेन्ट लोड गर्नुस