सुदूर नेपाललाई विश्वसँग जोड्दै

हमासको आक्रमणमा मारिने इजरायलीको संख्या ३०० पुग्यो

२०८० असोज २१, ०८:३४ खबर संवाददाता

धनगढीः इस्लामिक प्रतिरोध आन्दोलन (हमास)ले हिजो बिहानदेखि थालेको आक्रमणमा तीन सयभन्दा बढी इजरायली नागरिकको मृत्यु भएको छ। हमासको आक्रमणमा १५ सय ९० जना बढी घाइते भएका इजरायल डिफेन्स फोर्स (आईडीएफ) लाई उद्धृत गर्दै द टाइम्स अफ इजरायलले जनाएको छ। यीमध्ये तीन सयको अवस्था चिन्ताजनक छ। इजरायली सहरका अस्पतालहरू घाइतेहरूले भरिभराउ बनेका छन्। 

इजरायलले आफू युद्धमा रहेको भन्दै हिजैदेखि प्रत्याक्रमण थालेको छ। इजरायलको जवाफी आक्रमणमा कति मारिए भन्ने विवरण सार्वजनिक भएको छैन। 

गाजाका केही सीमावर्ती समुदायलाई प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणबाट मुक्त गराउने इजरायली सेनाको प्रयासका क्रममा नरसंहारको अवस्था बनेको बताइएको छ। इजरायली अखबार जेरुसलेम पोस्टका अनुसार, हमासले सीमाभन्दा २४ किलोमिटर टाढासम्मका सहर र अन्य समुदायसहित दक्षिणी इजरायलका २२ ठाउँमा आक्रमण गरेको छ। केही स्थानसम्म आक्रमणकारीहरू बन्दुक बोकेर घण्टौं घुमेका थिए। ’यस क्रममा उनीहरूले नागरिक र सैनिकमाथि गोली बर्साए, यीमध्ये कति नागरिक आफ्नै घरमा मारिए र केही सडकमै मारिए। एउटा ठूलो आउटडोर पार्टीमा पनि मानिसहरू मारिए’, द टाइम्स अफ इजरायलमा समाचार छ। 

शनिवार बिहानदेखि हमासले इजरायलमाथि हवाइ, समुद्री र स्थल आक्रमण थालेको हो। हमासले यो आक्रमणलाई इजरायलविरुद्धको ’अपरेसन’ भनेको छ। तर, इजरायलले यसलाई ’युद्ध’ भनेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासलाई यसको कठोर जवाफ दिने बताएका छन्। 

इजरायल र हमासबीचको लडाइँमा प्यालेस्टाइनी र इजरायली गरी गत वर्ष सयभन्दा बढीको मृत्यु भएको थियो। सन् २०१४ मा पनि प्यालेस्टाइनका तर्फबाट यस्तै आक्रमण भएको थियो । त्यो बेला ५२ दिनसम्म लगातार हमासले बम हानेको थियो। २०१८ मा पनि तनाव चुलिएको थियो।
 

कमेन्ट लोड गर्नुस