सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा पनि स्थानीय तहका कर्मचारी आन्दोलित

२०८० असोज १९, ०८:११ खबर संवाददाता

बैतडीः  सरकारले ल्याउन लागेको संघीय निजामती ऐनमा आफूहरुलाई विभेद गरेको भन्दै बैतडीका स्थानीय तहमा कार्यरत कर्मचारी आन्दोलित भएका छन्। उनीहरुले अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन्। जिल्लाका चार नगरपालिका र ६ गाउँपालिकामा कार्यरत कर्मचारीहरुले शुक्रवारबाट अत्यावश्यक बाहेकका सेवा अनिश्चितकालका लागि बन्द गरेका हुन्।

बैतडीका दशओटै स्थानीय तह र जिल्लास्तरीय संघर्ष समिति गठन गरेका कर्मचारीहरुले पालिका र जिल्लास्तरमा पेनडाउन गरेर विरोध गरिरहेका छन्। संघीय निजामति ऐनको सट्टा एकीकृत निजामति ऐन ल्याउनुपर्ने लगायतका मागहरु राखेर कर्मचारीहरु आन्दोलित भएका हुन्। स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाकोनै रहने व्यवस्था गरिनुपर्ने आफूहरुको माग रहेको दशरथचन्द नगरपालिकामा कार्यरत शिक्षा अधिकृत हरिश भट्टले बताए।

यस्तै, निजामतीको परिभाषाभित्र ल्याउन, तीनै तहका कर्मचारीलाई कुनै पनि सेवामा प्रवेश गर्दा उमेरहद नलगाउनुपर्ने, अन्तरप्रदेश सरुवाको व्यवस्था, निजामती अस्पतालमा उपचार, कर्मचारी कल्याण कोष, विविध सेवालाई प्रशासन सेवामा ल्याउन उनीहरुले माग राखेका छन्। यस अघि अछामको पञ्चदेवल विनायक नगरपालिकाका कर्मचारीले पनि हातमा कालो पट्टी बाँधेर आन्दोलन गरेका थिए।
 

कमेन्ट लोड गर्नुस