एमाले सुदूरपश्चिम अध्यक्षकालागि तिमिल्सिना र जैशी भिड्दै
धनगढीः नेकपा एमालेको देशैभरका प्रदेशमा प्रथम अधिवेशन भइरहेको छ। एमालेको प्रथम अधिवेशनका लागि सुदुरपश्मिबाट प्रदेश अध्यक्षका लागि दुई जना चुनावी तयारीमा जुटिरहेका छन्। अध्यक्षकालागि अछामका कमल तिमिल्सेना र अछामकै कृष्णप्रसाद जैशीबीच प्रतिस्पर्धा हुने देखिएको छ।
जिल्ला कमिटीले प्रदेश कमिटीलाई पठाएपछि प्रतिनिधिबारे अन्तिम निर्णय प्रदेश कमिटीले गर्ने एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव धर्मराज पाठकले बताए। यसअघि दामोदर भण्डारीको नाम आएपनि उनी हालका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य रहेकाले विधिअनुसार उम्मेदवार बन्न पाउने छैनन्। तिमिल्सेना र जैशीबीच चुनावी प्रतिस्पर्धा हुने आन्तरिक चर्चा बढेको छ।
आफू प्रदेश कमिटीको बहालवाला उपाध्यक्ष भएकोले अध्यक्षको स्वाभाविक दाबेदार भएको तिमिल्सेनाले बताए। उपाध्यक्ष भएर प्रदेशको काम गरेको अनुभव र अनेरास्ववियु, तत्कालीन प्रजातान्त्रिक युवा संघको केन्द्रीय सचिवालय हुँदै एमालेको जिल्ला कमिटी सदस्य र एमालेको जिल्ला अध्यक्ष, अञ्चल कमिटी सदस्य हुँदै थुप्रै अनुभव बटुलेको तिमिल्सेनाले बताए। जिविस महासंघको प्रवक्ता र स्थानीय निकायसम्वद्ध एशिया प्यासेफिकको सहअध्यक्ष बनेर अनुभव बटुल्नुका साथै आगामी निर्वाचनमा बहुमत दिलाउन र एमालेको सरकार निर्माणको लागि आफूले प्रदेश अध्यक्षमा दाबी गरेको जैशीले बताए।
तिमिल्सेना र जैशी प्रदेश अध्यक्षको प्रतिस्पर्धा भन्दा नेकपा एमाले पार्टी कमिटी सर्वसम्मतरूपमा निर्वाचन हुनुपर्नेमा पक्षमा छन्। हालका प्रदेश अध्यक्ष दामोदर भण्डारीले सुदूरपश्चिममा एमाले पार्टी बलियो बनाउन र सबैको भावना अनुसार अघि बढीरहेको भन्दै अधिवेशन सर्वसम्मतकै पक्षमा रहेको बताए। सुदूरपश्चिम प्रदेशमा यही असोज २१ र २२ गते नेकपा एमालेको प्रदेश अधिवेशन धनगढीमा हुँदैछ।