सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘सुदूरपश्चिममा भूकम्प पछिको पुनः निर्माण तीनै तहको सरकारले गर्ने’

२०८० असोज १७, ०६:०० नारायण अवस्थी

धनगढीः मङ्गलवार बझाङको जयपृथ्वी नगरपालिको चैनपुर केन्द्र भएर आएको भूकम्पमा घाइते भएकाहरूको उपचार सुदूरपश्चिम प्रदेश सरकारले गर्ने बताइएको छ। बुधवार मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा भएको खुला छलफलमा मुख्यमन्त्री शाहले भूकम्पका घाइतेको सम्पूर्ण उपचार खर्च प्रदेश सरकरले ब्यहोर्ने बताएका हुन्।

यस्तै, भूकम्प पछिको पुनर्निर्माणमा पनि संघ, प्रदेश र स्थानीय तहले मिलेर काम गर्नुपर्ने मुख्यमन्त्री शाहले बताएका छन्। ‘विपद्मा राज्य नागरिकहरूको साथमा हुनुपर्छ। त्यसैले घाइतेहरूको सम्पूर्ण उपचार प्रदेश सरकारले ब्यहोर्नेछ,’ उनले भने, ‘भूकम्पको क्षतिको विवरण लिने, राहत उपलब्ध गराउने काम प्रदेश सरकारले स्थानीय प्रशासनसँग मिलेर गर्नेछ भने पुनर्निर्माणको काम तीनै तहका सरकारले मिलेर गर्नुपर्छ।’

मङ्गलवार (१६ गते) आएको भूकम्पका कारण सुदूरपश्चिममा २७ जना घाइते भएका छन्। सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालय क्षतिको विवरण लिने र राहत वितरण गर्न भूकम्प प्रभावित क्षेत्रमा स्थानीय प्रशासनसँगै पुगेको छ। विपद्मा नागरिकको साथमा रहेर काम गर्न र उद्धार तथा पुनर्निर्माणमा लाग्न सके जनताको राज्यप्रतिको विश्वास बढ्ने र राज्यको नागरिक प्रतिको कर्तव्य पनि पूरा हुने भएकाले भूकम्पपछि गर्नुपर्ने सबै काम संघ, स्थानीय तह र विकास साँझेदार निकायसँग मिलेर गर्ने मुख्यमन्त्री शाहले बताएका छन्।

यो पटक आएको ६ दशमलव ३ रेक्टर स्केलको भूकम्पले बझाङमा सबै भन्दा बढी क्षति गरेको छ। बझाङमा मात्रै एक जना बेपत्ता भएका छन् भने १८ जना घाइते भएका छन्।यस्तै, अछाममा पाँच जना, र बैतडी तथा बाजुरामा समान २÷२ जना घाइते भएका छन्।

प्रदेश सरकारले घाइतेको उपचार प्रदेश सरकारले गर्ने, उद्धार, खोज र प्रभावितहरूलाई आवश्यक राहत सामग्री एकद्वार प्रणाली मार्फत वितरण गरिने जनाएको छ।

मङ्गलवार आएको भूकम्पले बझाङसहित सुदूरपश्चिमका पहाडी जिल्लामा ७६ घरमा पूर्ण क्षति पुगेको छ भने ३०१ घरमा आंशिक क्षति भएको छ।

भूकम्प, बाढी र पहिरो जस्ता विपद्को समयमा द्रुत गतिमा खोज, उद्धार, राहत र पुनर्निर्माण गर्न मजबुत संयन्त्र बनाएर काम गर्नुपर्ने मुख्यमन्त्री शाहले बताएका छन्। भूकम्प पीडितको उपचार, उद्धार, राहत र पुनर्निर्माणको काम प्रभावकारी ढङ्गले अगाडि बढाउ प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री शाहले बताएका छन्।

 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस