सुदूर नेपाललाई विश्वसँग जोड्दै

भूकम्पका कारण बझाङमा कुन पालिकामा कति घर क्षति?

२०८० असोज १७, १२:४३ नारायण अवस्थी

धनगढी: मङ्गलबार दिउँसो २ बजेर ४ मिनेट र ३ बजेर ६ मिनेटमा बझाङ जिल्ला केन्द्रबिन्दु भएर भूकम्प आएको थियो।  बझाङको तलकोट र चैनपुर केन्द्रबिन्दु भएर आएको भूकम्पका कारण बझाङमा  मात्रै ६४ घरमा पूर्ण क्षति, २७७ घरमा आंशिक क्षति र ९ वटा सरकारी कार्यालयमा क्षति भएको प्रारम्भिक विवरण आएको छ।

भूकम्पका कारण बझाङको थलारा गाउँपालिकामा सबैभन्दा बढी १२९ घरमा क्षति पुगेको छ। थलारा-२ मा तीन घरमा आंशिक क्षति भएको छ भने वडा नम्बर ३ का ६० घरमा क्षति भएको छ। यसैगरी, थलारा-५ मा २६ घर, वडा नम्बर ७ मा २५ घर र थलारा गाउँपालिकाको वडा नम्बर ८ मा १५ घरमा आंशिक क्षति भएको प्रदेशको अन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।

भूकम्पका कारण जयपृथ्वी नगरपालिकामा २ सरकारी कार्यालयसहित ८१ घरमा क्षति पुगेको छ। जयपृथ्वी-४ मा  एक घरमा पूर्ण क्षति पुगेको छ भने वडा नम्बर ५ मा १० घर, वडा नम्बर ६ मा एक सरकारी कार्यालय, वडा नम्बर ९ मा एक घरमा आंशिक क्षति भएको छ। यस्तै, जयपृथ्वी-१० मा २६ घरमा पूर्ण क्षति भएको छ भने ४१ घर र एक सरकारी कार्यालयमा आंशिक क्षति भएको छ।

जिल्लाको छविसपाथिभेरा गाउँपालिकामा ४७ घरमा क्षति पुगेको छ। छविसपाथिभेराको  वडा नम्बर १ मा ७ घरमा पूर्ण क्षति भएको छ भने ४० घरमा आंशिक क्षति भएको छ। खप्तडछान्ना गाउँपालिकामा ४१ घरमा क्षति पुगेको छ। वडा नम्बर ४ मा एक र वडा नम्बर ६ मा ४० घरमा क्षति पुगेको छ।

मङ्गलबारको भूकम्पका कारण दुर्गाथली गाउँपालिकामा २० घरमा क्षति पुगेको छ। दुर्गाथली-१ मा १० घरमा पूर्ण क्षति पुगेको छ भने वडा नम्बर २ मा तीन घर र वडा नम्बर ४ को ५ घरमा पूर्ण क्षति भएको छ भने दुर्गाथली ५ का दुई घरमा आंशिक क्षति भएको विवरण आन्तरिक मामिला तथा कानून मन्त्रालयले तयार गरेको छ।

भूकम्पका कारण सुर्मा गाउँपालिकामा १० घरमा क्षति पुगेको छ। सुर्मा-२ मा एक घरमा पूर्ण क्षति हुँदा नौ घरमा आंशिक क्षति पुगेको छ। मष्टा गाउँपालिका वडा नम्बर २ का ६  र वडा नम्बर ३ को  दुई घरमा पूर्ण क्षति पुगेको छ भने मष्टा-१ मा एक घरमा आंशिक क्षति पुगेको छ।

बुङ्गल नगरपालिका-२ मा दुई घरमा पूर्ण क्षति भएको छ भने थप दुई घरमा आंशिक क्षति पुगेको छ।यसैगरी, केदारस्यु-४ मा एक घरमा आंशिक क्षति भएको छ भने बित्थडचिर-७ मा एक घरमा पूर्ण क्षति भएको प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले तयार गरेको तथ्याङ्कले देखाएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस