सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक मन्त्रिपरिषदबाट स्वीकृत

२०८० असोज १७, ११:३२ कमल सावद

धनगढीः कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि तयार भएको विधेयकलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। संघीय मन्त्रिपरिषद्को मंगलवारको बैठकले स्वास्थ्य क्षेत्रको अध्ययन–अनुसन्धानलगायत उद्देश्य समेटिएको ६ सय शय्याको स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक स्वीकृत गरेका हो। 

विधेयकलाई संघीय संसदमा पेस गर्ने बाटो खुल्ला भएको छ। प्रतिनिधि सभा सदस्य डिल्लीराज पन्तका अनुसार संसदबाट गेटामा स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनको कानून बन्ने छ। कानुन बनेपछि कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा आउने छ।

संघीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको विधेयक मन्त्रीपरिषद्ले स्वीकृत गरेको हो। शिक्षा मन्त्रालयले नै गेटामा पाँच अर्ब बढीका भौतिक संरचनाहरु तयार पारेको छ। पन्तले दशै अगाडि नै संसदमा विधेयक दर्ता हुने बताए।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गेटामा मेडिकल कलेज सञ्चालन गर्ने भन्दै भौतिक संरचनाहरु निर्माण थालेको थियो। संघीय सरकारले २०७९ माघमा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो। त्यसका लागि गेटामा पाँच अर्ब लागतमा अस्पताल, कलेज, प्रशासनिक र होस्टेलका लागि २७ वटा भवनको निर्माणको काम पूरा भएको छ।

विद्युत जडान, सडक निर्माण, पर्खाल निर्माण लगाएको काम जारी छ। कानुनी बाटो तयार भइसकेपछि सुदूरपश्चिममै पहिलोपटक स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा आउने छ। 
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस