बैतडीमा बालिका घाइते
बैतडीः बझाङको तलकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको झट्काले भिरबाट खसेको ढुंगा लागेर बैतडीमा एक बालिका घाइते भएकी छन्।
घाइते हुनेमा डिलाशैनी गाउँपालिका–२ रोपनीबगडकी ११ वर्षीया निरा भण्डारी छिन्। लटिनाथ आधारभूत विद्यालय अमरखेतका शिक्षक लोकेन्द्रबहादुर धामीका अनुसार कक्षा–४ मा अध्ययनरत भण्डारी विद्यालय छुट्टी भएपछि घर फर्किरहेको अवस्थामा माथिबाट खसेको ढुंगा लागेर बायाँ खुट्टा भाँचिएको छ।
बालिकालाई तत्काल स्थानीय सेला स्वास्थ्य चौकीमा लगेर प्राथमिक उपचार गरिएको र स्वास्थ्यकर्मीले खुट्टा भाँचिको बताएको उनले बताए। बालिकालाई थप उपचारका लागि ठूलो अस्पताल लैजानुपर्ने स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन्। त्यस्तै भूकम्पले दार्चुलाको शैल्यशिखर, महाकाली नगरपालिका, नौगाड, मार्मा गाउँपालिकाका विद्यालय भवन, शौचालय, वडा कार्यालय भवन, घरहरु चर्किएको र क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।