सुदूर नेपाललाई विश्वसँग जोड्दै

झाडापखालाबाट बिरामी हुनेको संख्या १ सय ६० पुग्यो

२०७६ वैशाख १४, ०३:५५

गुल्मीको मुसिकोट नगरपालिका ४ को दजाकोटमा दूषित पानीका कारण गएको आइतबारदेखि फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन। झाडापखालाबाट बिरामी हुनेहरुको संख्या शनिवार अपराह्नसम्म १ सय ६० पुगेको उपचारमा संलग्न मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डीबी जीसीले बताएका छन्।

बिरामीहरुमध्ये पाँच जनाको गुल्मी अस्पताल तम्घासमा उपचार भैरहेकोमा शनिवार दुई जनालाई डिस्चार्ज गरिएको छ भने एक जनालाई भरतपुर मेडिकल कलेज चितवनमा उपचार भैरहेको छ। अन्य बिरामीहरुको भने दजाकोटमै सञ्चालित अस्थाई शिविरमा उपचारपछि घर फर्कने गरेको संयोजक जिसीले बताए। गुल्मी अस्पताल तम्घासमा डाक्टर उत्तम पचभैयाका अनुसार उपचारमा आएका पाँचै जनाको दिसामा एकै प्रकारको परजीवी देखिएका कारण पानीमा संक्रमण भएको हुनसक्ने बताए। पानी परीक्षणका लागि विश्व स्वास्थ्य संगठनबाट डाक्टरको टोली शनिबार नै प्रभावित क्षेत्रमा पुग्ने जनाइएको छ।

यस्तै झाडापखालाबाट प्रभावित दजाकोटको सिंगो बस्तीमा यतिबेला पिउने पानीको समस्या भएको छ। गएको एक वर्षदेखि नियमित रुपमा ८५ घरपरिवारले उपभोग गर्दै आएको पानी दूषित भएपछि स्थानीयहरु पानीको समस्यामा परेका हुन्। गाउँमा पानीको मुहान नभएपछि केही टाढा रहेको तालखोला भन्ने ठाउँबाट नगरपालिकाले शुक्रबारदेखि ट्यांकरबाट पानी वितरण गर्दै आएको छ।

साथै प्रत्येक घरलाई एक कार्टूनका दरले बोतलको पानी उपलब्ध गराएको नगरपालिका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए। यसबाहेक नगरपालिकाले बिरामीहरुको उपचारका लागि आवश्यक बजेटको व्यवस्था गर्ने सापकोटाले बताए। अहिले प्रभावित बस्तीमा सरसफाई सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ।  साभार - उज्यालो
 

कमेन्ट लोड गर्नुस