सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका चिकित्सक असुरक्षित, धनगढीमा छुट्टै प्रहरी टोलीको माग

२०८० असोज १६, १२:४९ कमल सावद

धनगढीः कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको सुरक्षाका लागि प्रहरी पोष्ट छ। सेती अस्पतालमा २४ सै घण्टा प्रहरी हुन्छ। धनगढीको माया मेट्रो र केजी अस्पतालमा पनि प्रहरीको सानो टोली हुन्छ। धनगढीको निर्सग हस्पिटललाई सामुदायिक प्रहरी सेवा केन्द्र हसनपुरले सहयोग गर्दै आएको छ भने स्वस्तिक अस्पतालसँगै जोडिएको घरमा समेत प्रहरी बस्दै आएको छ।

धनगढीको सेतीसहित निजी अस्पतालहरूमा पनि प्रहरीको टोली रहेका बेला सुदूरपश्चिमका स्वास्थ्यकर्मीले भने अस्पताल र स्वास्थ्यकर्मीको सुरक्षाका लागि छुट्‍टै प्रहरी टोलीको माग गरेका छन्। नेपाल चिकित्सक संघ सुदूरपश्चिमका संयोजक प्रदिप जोशीले सेतीमा रहेको प्रहरी पोष्टमा प्रहरीको संख्या बढासनुपर्ने बताए। उनले धनगढीमा निजी अस्पताल तथा स्वास्थ्यकर्मीलेसमेत सुरक्षाका लागि प्रहरीको टोली तयारी अवस्थामा हुनुपर्ने बताए। उनले भने, ‘सुदूरपश्चिमका चिकित्सक, अन्य स्वास्थ्यकर्मी र अस्पताल सञ्चालकहरुले सुरक्षाको माग गरेका छन्। सुरक्षित सेवाका लागि एक प्रहरीको टोली होस। अस्पतालमा कुनै पनि घटना भएपछि उक्त प्रहरी सकृय होस।’

धनगढी र अत्तरिया क्षेत्रका अस्पतालमा कार्यरत चिकित्सकहरूले बिरामीका आफन्तबाटै असुरक्षित भइरहेको भन्दै छट्टै प्रहरीको माग गरेका छन्। सेती अस्पतालमा रहेको प्रहरी पोष्टमा संख्या वृद्धि गर्न र सबै अस्पतालमा हुने अप्रिय घटनामा प्रहरी परिचालन गर्न चिकित्सकको माग छ। कैलालीका प्रमुख जिल्ला अधिकारसँग समेत स्वास्थ्यकर्मीहरूले सुरक्षाको माग गर्दै थप प्रहरी परिचालन गर्न अनुरोध गरेका छन्। सुरक्षाका लागि प्रहरीसँगै स्वास्थ्यकर्मी र बिरामीका आफन्त बिच सम्बन्ध राम्रो हुनुपर्ने तर्क स्वास्थ्यकर्मीको छ। सेती प्रादेशिक अस्पतालका चिकित्सक निराजनदत्त शर्मा पौडेलले नकारात्मक पक्षलाई हाम्रो समाजले बढवा दिने गरेको बताए। उनले भने, ‘चिकित्सकहरूले समेत आचरण र व्यवहारमा सुधार ल्याउनुपर्छ। कुनै अस्पतालमा घटना हुने अवस्था आयो भने एक प्रहरी टोलीसमेत आवश्यक छ।’

सुदूरपश्चिमका अस्पताल र स्वास्थ्यकर्मीको सुरक्षाका लागि छट्टै संगठनसमेत तयार गर्न चिकित्सकको सुझाव छ। एक अस्पताल वा स्वास्थ्यकर्मीलाई समस्या पर्दा त्यो संगठनले सहयोग गर्नुपर्ने उनीहरूले बताएका छन्। अस्पताल र चिकित्सकमाथि हुने अप्रिय घटना काम गर्न कानुनी सल्लाहकार समेत आवश्यक रहेको स्वास्थ्यकर्मीहरूले बताएका हुन्। शर्माले भने, ‘चिकित्सक कुटेर, पत्रकार कुटेर समस्याको समाधान हुँदैन। मान्छे पिट्नु गैरकानुनी हो।’

यसअघि अत्तरियामा रहेको पदमा अस्पतालमा गरिएको तोडफोड र संलग्नलाई कारबाही नगरिएको भन्दै स्वास्थ्यकर्मीहरूले असन्तुष्टि जनाएका छन्। अस्पताल र स्वास्थ्यकर्मीमाथि पटकपटक हातपात गर्ने वा कुटपिट गर्नेलाई कानूनी कारबाही हुनुपर्ने माग चिकित्सकहरूको छ। यसका लागि धनगढीमा छुट्टै प्रहरी टोली तयारी अवस्थामा राख्नुपर्ने माग चिकित्सकहरूले गरेका छन्। उपचारको क्रममा बिरामीका आफन्तबाटै असुरक्षा भइरहेको भन्दै सुदूरपश्चिमका विभिन्न निजी एवं सरकारी कार्यालयमा कार्यरत चिकित्सकहरूले छट्टै प्रहरी टोली परिचालनको माग गरेका हुन्। चिकित्सक सुरक्षाका लागि प्रहरी टोली २४ सै घण्टा तैनाथ राख्नुपर्ने माग स्वास्थ्यकर्मीहरूको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस