सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसियाड क्रिकेटमा नेपाल र भारतको खेल आज

२०८० असोज १६, ०६:२१ खबर संवाददाता

काठमाडौं:  नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमले १९औं एसियाडको क्वाटरफाइनलमा आज भारतसँग प्रतिस्पर्धा गर्दै छ। 

टी–ट्वेन्टी आईमा नेपाल र भारत पहिलोपटक आमनेसामने हुन लागेका हुन्। नेपाल र भारतबीचको खेल भोलि बिहान नेपाली समयअनुसार पौने ७ बजे सुरु हुनेछ। सोमबार भएको ड्र मा नेपाले भारत प्रतिद्वन्द्वी पाएको हो। नेपाल समूह एको विजेता हुँदै अन्तिम आठमा प्रवेश गरेको थियो। 

समूहको पहिलो खेलमा मंगोलियामाथि २७३ रनको कीर्तिमानी जित हात पारेको नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई १३८ रनले हराएको थियो। भारत भने सिधै क्‍वाटरफाइनल खेल्दै छ।ओडीआई विश्वकपका कारण सिधै क्‍वाटरफाइनलमा स्थान पाएका टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेशले एसियाडमा दोस्रो रोजाइका टिम पठाएका छन्।

नेपालविरुद्ध उत्रने भारतीय टिममा इन्डियन प्रिमियर लिग, आईपीएलमा उच्च प्रदर्शन गरेका खेलाडी समावेश छन्। ऋतुराज गायकवाडको कप्तानीमा रहेको भारतीय टिममा रिंकु सिंह, यसस्वी जैसवाल, अर्शदीप सिंह, वासिङ्टन सुन्दर, राहुल त्रिपाठी, तिलक बर्मा, शिव दुवेलगायत खेलाडी छन्। 

नेपालले गत महिना ओडीआईमा पहिलोपटक भारतसँग प्रतिस्पर्धा गरेको थियो। एसिया कप समूह चरणमा पहिले ब्याटिङ गरेको नेपालले २३० रन बनाउँदा विश्व क्रिकेटको ध्यान केन्द्रित भएको थियो।

कमेन्ट लोड गर्नुस